
कर्णाली प्रदेशका १६ हजार घरहरूको प्राकृतिक विपद् जोखिम बीमा गरिएको छ । ‘घर बीमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बीमा गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उनीहरूको ११ अर्ब ५० करोड बराबरको बीमा गरिएको हो ।
ख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्वारा घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाइएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घरलाई बीमा योजनामा समावेश गरिएको बताए ।
मुख्यमन्त्री कँडेलका अनुसार थोरै रकममा नागरिकको सम्पत्ति सुरक्षा हुनेगरी प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको छ । घर बीमाजस्तै प्रदेशमा कृषि, पशु बीमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता रहेको उनले बताए ।
क्षतिपूर्ति दिनेभन्दा बीमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा स्थानीय तहले अग्रसरता लिनुपर्नेमा उनले जोड दिए ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका नागरिकको आर्थिक अवस्था, भौगोलिक विकटता र विपद् जोखिममा ध्यान दिँदै नागरिकको समस्यालाई प्राथमिकतामा राखेर सरकारले घर बीमा कार्यक्रम शुभारम्भ गरिएको बताए । उनले सुगममा मात्र नभई विपद् पर्दाको समयमा दुर्गममा गएर पनि काम गर्न बीमा कम्पनीलाई सुझाए ।
कार्यविधिबमोजिम घर बीमा कार्यक्रममा आबद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरिएकामा १० जिल्लाका २३ स्थानीय तहले प्रतिबद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए । उनका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बीमा प्राधिकरणले छनोट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ वटा बीमक कम्पनी खटाई निजी आवासको मूल्याङ्कन शुरू गरिएको थियो ।
कार्यविधिको दफा ५ को (२) बमोजिम प्रतिघर अधिकतमा २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयं धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिए । प्रिमियमबापत जम्मा ९८ लाख २४ हजार ८९३ भुक्तानी भएको उनले बताए। रासस