
सशस्त्र प्रहरीले डोल्पामा भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार गरेको छ ।
ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको मंगलबार सकुशल उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरूमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्द प्रसाद बोहरा, ३५ वर्षीय लाल कुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा छन् ।
मंगलबार बिहान दाउरा लिन गएका उनीहरू एक्कासी पानीको बहाव बढेपछि नदीको बीच भागमा फसेका थिए । त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।
उद्धारपश्चात उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।