
समाजवादी मोर्चाले गणतन्त्रलाई 'थ्रेट' गर्ने प्रवृत्ति र हर्कतले देश जटिल स्थितिमा पुगेको निष्कर्ष निकालेको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको बैठकपछि मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले देश जटिल स्थितिमा पुगेको निष्कर्ष मोर्चाले निकालेको जानकारी दिए ।
'अहिले देशको स्थिति जटिल ठाउँमा छ, गणतन्त्रलाई थ्रेट गर्ने प्रवृत्ति र हर्कतहरू अगाडि आइरहेका छन्, त्यसैले देश अप्ठ्यारो स्थितिमा छ,' बैठकपछि पत्रकारहरूसँग उनले भने ।
राज्य सञ्चालकहरूको तौर तरिकाहरू पनि डरलाग्दो स्थितिमा पुगेको उनले दाबी गरे । उनीहरूकै कारण देश निराशावादको सिकार बनेको उनको आरोप छ ।
देशलाई समाजवादी गणतन्त्रमा लैजाने विषयमा पनि आजको बैठकमा छलफल भएको प्रवक्ता प्रकाण्डले बताए । त्यसका लागि मोर्चा सक्रिय रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।
आगामी दिनमा मोर्चाले आफूले नयाँ ढंगले प्रस्तुत गर्ने उनले जानकारी दिए ।