
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसेको छ ।
भैरहवास्थित होटल रमादामा संसदीय दलको बैठक बसेको रास्वपाले जनाएको छ । अहिले बैठक जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरू मंगलबार नै भैरहवा पुगेका थिए ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमै छन् । दलको बैठकअघि केही नेताहरूले कारागार पुगेर रविलाई भेटेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गर्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा कुलिङ अफ पिरियड, रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचन, भिजिट भिसा प्रकरण, पार्टीले सञ्चालन गरिरहेको हस्ताक्षर अभियान लगायतका विषयमा छलफल हुनेछ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत १५ जना सांसद बैठकमा सहभागी छन् । बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको हो ।