
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक काठमाडौं बाहिर रुपन्देहीको भैरहवामा संसदीय दलको बैठक राखेर विभिन्न निर्णय गरेको छ ।
बैठकले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्योसँग सम्बन्धित बेथिति विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
भ्रष्टाचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट गर्ने निर्णय समेत भएको परियारले बताए ।
‘यसका आयाम र रूप परिवर्तन हुन सक्छन्, जुन नेपाली जनताको मुद्दा हो, सदन र सबैतिर उठाउने निर्णय भएको छ’, प्रमुख सचेतक परियारले भने, ‘संसदीय समिति र सदनमा सशक्त भएर आवाज उठाउन सासंदहरूलाई संसदीय दलले निर्देशन गरेको छ ।’
त्यस्तै, लुम्बिनी प्रदेशका जनताले भोग्नु परेका समस्या, यहाँको पर्यटन व्यवसायमा आएको अप्ठ्यारो, खडेरीले किसानलाई परेको मर्का, लुम्बिनीको भूमि सम्बन्धी मुद्दालाई पनि संसद्मा उठाउने, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।
सर्वोच्च अदालतले प्रवासी नेपालीहरूलाई मताधिकार दिने व्यवस्था गरेको र त्यसको कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गर्ने बैठकले निर्णय गरेको प्रमुख सचेतक परियारले बताए ।
भैरहवाको रमादा होटलमा बुधबार दिउँसो ४ घण्टा बैठक चलेको थियो । संसदीय दलको बैठकका लागि रास्वपाका सांसदहरू मंगलबार नै भैरहवा पुगेका थिए ।
रास्वपा सभापति रवि लामिछाने रुपन्देही सहकारी ठगी, संगठित अपराधलगायतका मुद्दाको पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका छन् । संसदीय दलको बैठकअघि कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, प्रवक्तासहितको टोलीले लामिछानेलाई भेट्ने प्रयास गरेका थिए । तर, कारागार प्रशासनले सामूहिक भेट दिन अस्वीकार गरेको थियो । लामिछानेलाई पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र सांसद सोविता गौतमले मात्रै भेट्न पाएका थिए ।