
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता शुरू भएको छ ।
भेटवार्तामा दोस्रो तहका नेताहरू पनि सहभागी छन् ।
भेटमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् भने एमालेबाट उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।
यसैगरी, महान्यायाधिवक्ता रमेश बडाल पनि बालुवाटार बैठकमा सहभागी छन् ।
समसामयिक राजनीति, सरकारका मन्त्रीको कार्यसम्पादन, हेरफेरसहित विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय केही मन्त्री विवादित बनेको र केहीको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् ।
सरकार गठनको एक वर्ष पुगेको असार मसान्तदेखि नै प्रधानमन्त्रीले ओली केही मन्त्री हेरफेर गर्नेगरी संवादमा जुटेका थिए ।
यसअघि गृहमन्त्री रमेश लेखकसँग ओलीले पटकपटक छलफल गरिसकेका छन् । लेखकसँग छलफल गरेपछि ओलीले देउवासँग भेट गरेका हुन् ।
ओलीले केही मन्त्री हेरफेर गर्ने मनसाय बनाए पनि देउवा सहजै मन्त्री फेरबदल गर्न इच्छुक देखिएका थिएनन् । तर, उनलाई पनि केहीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रीमा अवसर दिन दबाब छ ।
बिहीबारको बालुवाटार बैठकले यस विषयमा सहमति जुटाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।