
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएका लामाले सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।
बिहीबार सभापति देउवाले लामालाई छलफलको लागि बोलाएका थिए । बिहीबारको छलफलपछि लामा राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले लामाले छिट्टै राजीनामा दिने लोकान्तरलाई जानकारी दिए ।
‘हिजो सभापतिसँग भेट भएको थियो । सभापतिले पनि अब राजीनामा दिनुस् भन्नुभएको छ,’ भानुले लोकान्तरसँग भने, ‘सके आजै नभए भोलिसम्म राजीनामा दिनुहुन्छ ।’
मत विभाजन र संसदीय दलको चुनावमा लामालाई नै भोट दिएका प्रदेशसभा सदस्य तीर्थ लामाले पनि मुख्यमन्त्रीको राजीनामा चाँडै आउने बताए ।
‘मुख्यमन्त्रीले हिजो सभापतिसँग छलफल गर्नुभएको छ । यसैले आज भोलिसम्म राजीनामा दिने तयारी गर्नुभएको छ,’ लामाले लोकान्तरसँग भने ।
अघिल्लो वर्ष मुख्यमन्त्री भएका लामा संसदीय दलको चुनावमा ईन्द्र बानियाँसँग पराजित भएका थिए । मत विभाजन र चुनावमा लामाले १४, बानियाँले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेसका ३७ सांसद मध्ये बहुसंख्यक सदस्यको मत पाउन नसकेपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब परेको थियो ।
१० महिना आलोपालोको सहमति भए पनि एक वर्ष पुग्न लाग्दासमेत लामाले मुख्यमन्त्री नछाड्ने अडान लिएका थिए ।
लामालाई हटाउन बानियाँ पक्ष मत विभाजन हुँदै निर्वाचनको प्रक्रियामा गएको थियो । लामाले राजीनामा दिएपछि कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्नेछन् ।
संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा उनी रहेका थिए । तर देउवासँगको भेटपछि उनी राजीनामा दिन तयार बनेका हुन् ।