
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको अवधिमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन् । मन्त्री चौधरीले शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री चौधरीले आफ्नो एक वर्षे कार्यकालमा राष्ट्रिय खेलकुद नीति–२०८२ जारी गरेको, राष्ट्रिय युवा नीति–२०८१ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको र राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको उल्लेख गरेका छन् ।
यसैगरी, उनले एक वर्षको अवधिमा नयाँ राष्ट्रिय युवा परिषद ऐन र नेपाल स्काउट ऐन तर्जुमाका लागि मन्त्रि परिषदबाट सैद्धान्तिक सहमति प्राप्त भएको र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान कार्यविधि–२०८२ को मस्यौदा तयार पारेको पनि उल्लेख गरेका छन् ।
यसैगरी, राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको कार्यालय स्थापना गरेको तथा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय एन्टि डोपिङ ऐजेन्सीको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जनाएका छन् ।
मन्त्री चौधरीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण एक अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरिएको पनि उल्लेख गरेका छन् ।
यसैगरी, उनले नेपाल स्काउटबाट एक हजार पाँच सय ८९ जनालाई स्काउट तालिम प्रदान गरिएको, ७० जनालाई विपद व्यवस्थापन तालिम प्रदान गरिएको र देशभर २४ हजार ८९ जना स्काउट स्वयंसेवक परिचालन गरिएको पनि जनाएका छन् ।
उनले राष्ट्रिय युवा परिषद्बाट तीन सय ४० जना युवाका लागि १६ स्थानमा रोजगारमूलक सीप विकास तालिम सञ्चालन गरिएको, एक हजार ७३ युवालाई उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्रदान गरिएको, ६ सय युवालाई स्वयंसेवी कार्यमा सहभागी गराइएको र नेत्रहीन युवा संघ नेपालसँगको सहकार्यमा अपाङ्गता भएका युवाहरूको राष्ट्रिय सम्मेलन आयोजना गरिएको पनि जनाएका छन् ।
यसैगरी, उनले युवाहरूको सहभागितामा नेपाल युथ समिट कार्यक्रम आयोजना गरिएको, युवाको सहभागितामा युवा विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गरिएको र एक हजार चार सय ८१ जनालाई युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्श प्रदान गरिएको पनि उल्लेख गरेका छन् ।
मन्त्री चौधरीले ९१ जना युवाको सहभागितामा संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम र ७६ जना युवाको सहभागितामा नमूना संघीय संसद् युवा अभ्यास कार्यक्रम सम्पन्न गरिएको तथा ६ सय युवालाई डेंगु तथा प्रकोपजन्य रोग नियन्त्रण, लागु पदार्थ दुर्व्यसन, आधारभूत स्वास्थ्य शिक्षा सचेतना, लैङ्गिक विभेद तथा घरेलु हिंसा विषयमा स्वयंसेवकको रूपमा परिचालन गरिएको जनाएका छन् ।
उनले युवा विषयमा क्रियाशील चारजना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको, ८० जना युवा युवा नवप्रवर्तन तथा इन्क्युवेशन कार्यक्रममा सहभागी भएको, अनलाइन माध्यमबाट सञ्चालन गरिएको लोकसेवा आयोग तयारी कक्षामा नौ सय ३५ जना र शिक्षा सेवा आयोगको तयारी कक्षामा एक सय ९५ जना युवा सहभागी भएको पनि जनाएका छन् ।
यसैगरी, युवा वैज्ञानिक सम्मेलनमा तीन सय जना युवाले सहभागिता जनाएको, ६ सय ४२ जना युवालाई विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिएको, ३७ जना शहीद, बेपत्ता तथा द्वन्द्व प्रभावित युवाहरूले च्याउ खेती सम्बन्धी तालिम प्राप्त गरेको तथा युवाका लागि विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र काठमाडौंमा सञ्चालित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा एक हजार ८० युवाले सहभागिताको अवसर प्राप्त गरेको पनि उनले जनाएका छन् ।
मन्त्री चौधरीले खेलकुद विकासतर्फ जापानमा हुने २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन–२०२६ अभियान सञ्चालन गरेको तथा उक्त अभियानमा १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी कुल एक सय चार जनालाई विशेष प्रशिक्षणमा राखिएको उल्लेख गरेका छन् ।
यसैगरी, ट्यालेन्ट हन्ट कार्यक्रमअन्तर्गत भलिबल, कबड्डी, खो खो र रग्बी खेलका एक सय दुई खेलाडी र सात प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको तथा पेरिस ओलम्पिकको तयारीका लागि एथलेटिक्स, ब्याडमिन्टन, पौडी, टेबलटेनिस, सुटिङ र जुडो खेलका खेलाडी र प्रशिक्षकलाई विशेष प्रशिक्षण प्रदान गरिएको पनि उनले जनाएका छन् ।
यसैगरी, उनले पेरिस पारा ओलम्पिकमा नेपालबाट तीन जना पारा खेलाडी सहभागी रहेकोमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएको तथा आगामी एशियन इण्डोर मार्सल आर्ट गेम्समा सहभागिताको तयारी भइरहेको जनाएका छन् ।
मन्त्री चौधरीले प्रदेश सरकारसँगको सहकार्यमा तीन सय ६० जना खेलकुद शिक्षकलाई तालिम प्रदान गरिएको, नेपालमा आयोजना गरिएको एशियाली ई–स्पोर्ट प्रतियोगितामा १४ देशका खेलाडीले सहभागिता जनाएको र उक्त प्रतियोगितामा नेपाली टोली तेस्रो भएको पनि उल्लेख गरेका छन् ।
यसैगरी, विभिन्न खेलका ७८ वटा राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको, प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको, एसियाली कराँते प्रतियोगितामा नेपाली खेलाडी एरिका गुरुङले रजत पदक जितेको तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको पनि उनले जनाएका छन् ।
मन्त्री चौधरीले १० जना खेलकुद पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरिएको तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्न सफल आठ खेलका ८३ खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिएको पनि जनाएका छन् ।
उनले यस क्रममा काभा महिला भलिबल प्रतियोगितामा विजयी खेलाडी र प्रशिक्षक गरी १८ जनालाई कुल ४७ लाख ६० हजार तथा पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनलाई ६५ लाख, प्रशिक्षकलाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई दुई लाख ९२ हजार गरी कुल ७३ लाख ७७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको उल्लेख गरेका छन् ।
उनले साफ महिला च्याम्पियनसिप फूटबलमा रजत पदक जित्ने टोलीका २८ जना सदस्यलाई कुल ७४ लाख ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको, २०औं एसियाली कराँते च्याम्पियनसिपमा द्वितीय स्थान हासिल गर्ने टोलीका खेलाडीलाई सात लाख ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको, काभा बीच भलिबलमा पदक जित्ने टोलीका सदस्यलाई कुल १९ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको जनाएका छन् ।
यसैगरी, खेलकुद क्षेत्रमा सक्रिय नौ जनालाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको, काभा पुरुष भलिबलमा पदक जित्ने टोलीका सदस्यलाई कुल ४० लाख ४० हजार पुरस्कार वितरण गरिएको, उसुको थाउलो विश्वकपमा पदक जित्ने विजय सिन्जालीलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको तथा एसियन कबड्डी च्याम्पियनसिपमा पदक जित्ने महिला टोलीका सदस्यलाई कुल १५ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको उनले जनाएका छन् ।
यसैगरी, खेलकुद पूर्वाधार विकासतर्फ मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाका डीपीआर र ईआईए सम्पन्न भएको, कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको निर्माण कार्य अन्तिम चरणमा पुगेको, पोखरा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि उनले जनाएका छन् ।
यसैगरी, उनले कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको डीपीआर र ईआई सम्पन्न भएको, ललितपुरको सातदोबाटोमा हाई पर्फमेन्स सेन्टर एन्ड नेशनल स्पोर्ट्स साइन्स ल्याबको स्थापना गरिएको तथा अघिल्लो आर्थिक वर्षमा पुँजीगततर्फ खुद विनियोजित बजेट ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैया खर्च हुन गई ७४.४२ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरेका छन् ।
यसका अतिरिक्त उनले आगामी कार्यक्रमहरूको बारेमा पनि उल्लेख गरेका छन् । उनले आगामी कार्यक्रममा झापा स्पोर्ट्स ऐकेडेमी निर्माणको जग्गा प्राप्तिसँगै डीपीआर र ईआईए सम्पन्न गर्ने लक्ष्य राखिएको, भक्तपुर जिल्लामा ५० हजार दर्शक क्षमताको फूटबल रंगशाला निर्माणको कार्य अगाडि बढाउने तयारी भइरहेको तथा अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको कार्य भइरहेको बताएका छन् ।
यसैगरी, काठमाडौंमा नेपाल स्पोर्ट्स इन्भेस्टमेन्ट समिति–२०२५ आयोजनाको तयारी भइरहेको, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको तथा नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडि बढेको पनि बनाएका छन् ।
दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बु जिल्लामा हाई अल्टिच्यूड ट्रेनिङ सेन्ट निर्माणको काम अगाडि बढेको, युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा एन्फामार्फत पहिलोपटक फिफा फूटबल फर स्कूल कार्यक्रमअन्तर्गत देशभरका विद्यालयहरूमा प्रशिक्षणसहितको ३२ हजार फूटबल वितरण गर्ने काम भइरहेको तथा सात वटै प्रदेशमा युवाहरूका लागि सीप मेला र सीप विकास तालिम सञ्चालनको तयारी भइरहेको पनि उनले जनाएका छन् ।