०८ असार २०८३, सोमबार

पराजयपछि भविष्यमा चुनाव नलड्ने केसीको घोषणा

मंसिर २४, २०७४
पराजयपछि भविष्यमा चुनाव नलड्ने केसीको घोषणा

 सोलुखुम्बु, २४ मंसिर - नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । 

यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।” 
नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जित्नुभएका केसीको यो दोस्रो हार हो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का गोपाल किराँतीसँग पराजय हुनुभएका केसी यस पटक नेकपा (माओवादी केन्द्र) कै हेमकुमार राईदेखि पराजय हुनुभएको छ । 


आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको काँग्रेसले निष्कर्ष निकालेको छ । नेता केसीले जिल्लामा काँग्रेस सबै एक भएर नलाग्नाले तीनै स्थानमा पराजय व्यहोर्नुपरेको बताउनुभयो । 

काँग्रेसका तर्फबाट प्रदेशसभा (क) मा उम्मेदवार प्रकाशसिंह कार्कीले मतदाताले रुचाउँदा रुचाउँदै पनि संगठनको कमजोरीका कारण पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले हामीलाई चाहेकै हुन् तर संगठन निर्माण गर्नेको कमजोरी भयो ।” प्रदेशसभा (ख)का उम्मेदवार आङगेलु शेर्पाले पनि पार्टी एक हुन नसक्दा जनताले चाहेर पनि काँग्रेसले हार बेहोर्नु परेको बताउँदै पार्टी र संगठनभित्र कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । 

पूर्वपार्टी सभापतिसमेत रहनुभएका शेर्पाले पार्टीमा विगतदेखिको समस्या सुल्झाउनु नसक्नु नै पराजयको प्रमुख कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा पार्टी सुदृढीकरण गरेर बहुमतले विजयी हुने गरी काँग्रेसले काम गर्नुपर्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्