प्लास्टिकको फोहोरको बढ्दो समस्यालाई सम्बोधन गर्न भारतको केरला सरकारले एउटा अनौठो पहल शुरू गरेको छ । अब ग्राहकहरूले केरला राज्य पेय पदार्थ निगम (बेभ्को) आउटलेटहरूमा बेचेका खाली रक्सीका बोतलहरू फिर्ता गर्दा २० रुपैयाँ (भारु) फिर्ता पाउनेछन् ।
अन्तःशुल्क विभागले यो योजना सेप्टेम्बरमा पाइलट परियोजनाको रूपमा शुरू हुने जनाएको छ। यसअन्तर्गत, प्लास्टिक र गिलास दुवै मदिराका बोतलहरूमा थप २० शुल्क लगाइनेछ, जुन बोतल फिर्ता गर्दा फिर्ता गरिने दैनिक भास्करले जनाएको छ ।
अन्तःशुल्क मन्त्री एमबी राजेशले २० रुपैयाँलाई अतिरिक्त शुल्कको रूपमा लिनु नहुने बताए । तर यसलाई लगानीको रूपमा लिनु पर्ने उनको भनाइ छ । बोतलहरूको ट्र्याकिङ र फिर्ता गर्न सहज बनाउन प्रत्येक बोतलमा क्यूआर कोड राखिनेछ।
केरलामा वार्षिक ७० करोड रक्सीका बोतलहरू बेचिन्छन्, जसमध्ये ८० प्रतिशत प्लास्टिकका हुन्छन् । 'यसले सडकमा फ्याँकिएका बोतलहरूको संख्या घटाउन मद्दत गर्नेछ,' मन्त्रीले भने ।
यो परियोजना 'क्लिन केरला कम्पनी' सँगको साझेदारीमा शुरू गरिएको हो । पहिले यो योजना तमिलनाडुमा शुरू गरिएको थियो, जुन आज पनि सफलतापूर्वक लागू गरिएको छ ।