
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
स्थायी कमिटी बैठकपछि आइतबार पार्टी कार्यालय परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । ‘छलफल चलिरहेको छ, जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने हो,’ प्रचण्डले भने ।
आइतबारको बैठकमा उपमहासचिव जनार्दन शर्माले आफ्नो कमजोरीका लागि आत्मालोचना गर्न तयार रहेको तर प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने बताएका थिए ।
पछिल्लो समय माओवादी पार्टीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच आरोप प्रत्यारोप चलिरहेको छ । पार्टीको ३१ लाख भोट ११ लाखमा झारे बापत प्रचण्डले पनि आत्मालोचना गर्नुपर्ने धारणा शर्माले राखेका थिए ।
प्रवक्ता अग्नि सापकोटाले महासचिव र उपाध्यक्षले धारणा राखेपछि प्रचण्डले जवाफ दिने र बैठक भोलि समापन हुने जानकारी दिए ।