
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस प्रकरणमा राजीनामा दिएका तत्कालीन मन्त्री राजकुमार गुप्तामाथि छानबिन नभएकोमा आपत्ति जनाएको छ ।
अडियो प्रकरणमा नाम जोडिएका भूमि मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई उन्मुक्ति दिइएकोमा रास्वपाले विरोध जनाएको हो ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका अशीम शाहले भ्रष्टाचार आरोप लागेकालाई उन्मुक्ति दिइएकोमा आपत्ति जनाएका हुन् ।
‘हामी कस्तो नयाँ परम्परा बसाल्दै छौं ? राजीनामा दिएपछि सबै पाप पखालियो, राजीनामा भ्रष्टाचारको अपराधाबाट मुक्ति पाउने गंगा स्थान भएछ,’ साहले भने, ‘राजकुमार गुप्ताले राजीनामा दिनुभयो र छानबिनको फाइल बन्द भयो, त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृष्य शक्तिले संरक्षण दिइरहेको छ ?’
साहले भिजिट भिसा प्रकरणमा उच्चस्तीय छानबिनको मागमा आफूहरू अडिग रहेको बताए ।