
पूर्वराष्ट्रपति विद्या भण्डारीको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 'प्रचण्ड'ले अर्काको पार्टीमा दाउ नखेल्न नेकपा एमाले सांसद दयालबहादुर शाहीले चेतावनी दिएका छन् । उनले अपुतालीको आश नगर्न पनि प्रचण्डलाई सुझाव दिए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले विद्या भण्डारीको चिन्ता नगर्न माओवादीलाई आग्रह गरेका हुन् । ‘हिजो एमाले भित्र माओवादी परास्त नेतृत्व ल्याउनका लागि पत्रिकामा लगानी गर्नुभएको थियो । अहिले पूर्वराष्ट्रपतिको माया लागेको छ, हाम्रो किन चिन्ता लिनुहुन्छ ? मोहन वैद्य र मोहन विक्रमको चिन्ता गर्नुस् न !,’ शाहीले भने ।
विद्यालाई राष्ट्रपति बनाउँदा गुटको चस्मा भनेर आरोप लगाएकाहरू अहिले उनको चिन्ता व्यक्त गर्नु स्वभाविक नभएको उनले बताए । ‘अपुतालीको आश नगर्नुस्, माधव र झलनाथजस्ता आधा माओवादी नेता भएको बेला ०६४ सालमा जो बाढी आयो । अब आउने वाला छैन,’ शाहीले भने, ‘एमाले गैरी खेत हो, गैरी खेतको शिर हान्न नलाग्नुस् । तपाईंहरूको सुकेको काल्नामा पानी हाल्नुस् ।’