०९ साउन २०८३, शनिबार

पाँचौं टेस्टमा भारत विजयी, बराबरीमा सकियो शृंखला​

साउन १९, २०८२
काठमाडौं
पाँचौं टेस्टमा भारत विजयी, बराबरीमा सकियो शृंखला​

इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । पाँचौं टेस्टको अन्तिम दिन सोमबार भारतले इङ्ल्यान्डलाई ६ रनले हरायो ।

भारतको जीतसँगै पाँच टेस्टको शृंखला २/२ को बराबरीमा सकिएको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । दोस्रो टेस्ट भारतले तीन सय ३६ रनले जितेको थियो ।

यसैगरी, तेस्रो टेस्टमा इङ्ल्यान्ड २२ रनले विजयी भएको थियो । शृंखलाको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो । पाँचौं टेस्ट जित्दै भारतले शृंखला बराबरीमा टुंग्याएको हो ।

भारतले पहिलो पालीमा दुई सय २४ रन बनाएको थियो । द ओभलमा घरेलु टोली इङ्ल्यान्डले भने पहिलो पालीमा दुई सय ४७ रन बनाएको थियो ।

यसैगरी, भारतले आफ्नो दोस्रो पालीमा तीन सय ९६ रन बनाएको थियो । तीन सय ७४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले भने दोस्रो पालीमा अलआउट हुनुअघि तीन सय ६७ रनमात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका अन्तिम ब्याट्सम्यान क्रिस वाक्स एउटा हातमा गम्भीर चोट लागेपछि एउटै हातले ब्याटिङ गर्न आएका थिए । त्यसैले अन्त्यतिर खेल निकै रोमाञ्चक बनेको थियो ।

जीतका लागि सात रन आवश्यक रहँदा गस एटकिन्सन १७ रन बनाउँदै आउट भएपछि भारतको जीत सम्भव भएको थियो । एटकिन्सनलाई मोहम्मद सिराजले बोल्ड गरेका थिए ।

आफ्नो दोस्रो पालीमा जो रुट र ह्यारी ब्रुकले शतक तथा बेन डकेटले अर्धशतक बनाए पनि घरेलु टोली इङ्ल्यान्डले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

खेलको अन्तिम दिन ३५ रनको लक्ष्य पछ्याउँदै इङ्ल्यान्ड जवाफी ब्याटिङमा ओर्लिएको थियो । तर, इङ्ल्यान्डले अन्तिम दिनको खेलअघि नै ६ विकेट गुमाइसकेको थियो ।

ह्यारी ब्रुकले एक सय ११ रन बनाएका थिए । जो रुटले एक सय पाँच रनको योगदान गरेका थिए । यसका अतिरिक्त, बेन डकेटले पनि ५४ रनको पाली खेलेका थिए ।

दोस्रो पालीमा भारतीय टोलीका बलर मोहम्मद सिराजले पाँच विकेट लिए । प्रसिद्ध कृष्णाले पनि चार विकेट हात पारे । आकाश दीपले पनि एक विकेट कुम्ल्याएका थिए ।

पाँच टेस्टको शृंखलामा दुवै टोलीका ब्याट्सम्यानले कुल २१ शतक प्रहार गरे । यो शृंखलामा भारतीय टोलीका कप्तान शुभमन गिलले सर्वाधिक चारवटा शतक प्रहार गरे ।

शतकको दृष्टिकोणले जारी टेस्ट शृंखलाले टेस्ट क्रिकेटमा ७० वर्ष पुरानो कीर्तिमानको बराबरी पनि गरेको छ । यसअघि सन् १९५५ मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेलिएको टेस्ट शृंखलामा पनि २१ वटा शतक बनेको थियो ।

जारी शृंखलामा भारतीय ब्याट्सम्यानले १२ वटा शतक बनाए । इङ्ल्यान्डका ब्याट्सम्यानले भने नौ वटा शतक प्रहार गरे । पाँच टेस्टको शृंखलामा सबैभन्दा बढी शतक पहिलो टेस्टमा बनेको थियो । उक्त टेस्टमा दुबै टोलीका ब्याट्सम्यानले कुल सात शतक बनाएका थिए ।

एउटै टेस्ट शृंखलामा भारतीय ब्याट्सम्यानले १२ वटा शतक बनाएको पनि यो पहिलो पटक हो । विश्व टेस्ट क्रिकेटमा भने यसअघि पनि तीनपटक एउटै शृंखलामा एउटै टोलीले १२ वटा शतक प्रहार गरिसकेको छ ।

द ओभलमा कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा ठुलो विजय लक्ष्य दुई सय ६३ रन हो । सन् १९०२ मा खेलिएको टेस्टमा अस्ट्रेलियाले दिएको दुई सय ९३ रनको लक्ष्य इङ्ल्यान्डले नौ विकेट गुमाएर पूरा गरेको थियो । तर, इङ्ल्यान्डले त्यो कीर्तिमान तोड्न सकेन ।

salt training

कमेन्ट गर्नुहोस्