३० जेठ २०८३, शनिबार

सेयरको 'आइजिन' छुट्याउन निर्देशिका तयार, बजारमा समर्थन र विरोध

साउन १९, २०८२
काठमाडौं
सेयरको 'आइजिन' छुट्याउन निर्देशिका तयार, बजारमा समर्थन र विरोध

केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ हाउस (सिडिएससी) ले सेयरको अन्तर्राष्ट्रिय पहिचान नम्बर (आइजिन) संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै अनिवार्य गर्ने तयारी गरेको छ ।

यसका लागि सिडिएससीले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ तयार गरेको हो । यो निर्देशिकाले भौतिक सेयरलाई अभौतिक रूपमा रूपान्तरण गर्दा सङ्गठित संस्थाको प्रबन्धपत्र र नियमावलीमा संस्थापक र सर्वसाधारण सेयर छुट्याइएको अवस्थामा फरक–फरक आइजिन नम्बर प्रदान गर्ने व्यवस्था गरेको छ ।

सिडिएससीको सञ्चालक समितिबाट सर्वसम्मत पारित भइसकेको यो निर्देशिका स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गरिएको छ ।

स्वीकृति प्राप्त भएपछि दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको सेयर अभौतिकीकरण गर्दा सिडिएससीले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आइजिन नम्बर प्रदान गर्नेछ ।

यो व्यवस्थाको पक्ष र विपक्षमा बहस शुरू भएको छ । कतिपय लगानीकर्ताहरूले यो कदमले बजारमा पारदर्शिता बढाउने र संस्थापक सेयरको लकिङ अवधि नसकिँदै बिक्री गर्ने गलत अभ्यासलाई रोक्ने भन्दै समर्थन गरेका छन् ।

तर, विशेषगरी जलविद्युत् प्रवर्धकहरूले यसले ठूला लगानीलाई नकारात्मक असर पार्ने र विदेशी लगानी भित्र्याउन कठिन हुने भन्दै विरोध जनाएका छन् ।

सिडिएससीका प्रबन्ध निर्देशक प्रवीण पन्दाकले यो व्यवस्था लागु गर्नुका पछाडि दुई मुख्य कारण रहेको बताएकी छन् ।

नियामक निकाय सेबोनले आइजिनसम्बन्धी नियम पालना गर्न निर्देशन दिएको र केन्द्रीय निक्षेप नियमावली, २०६७ ले माग गरेकाले यो निर्देशिका तयार गरिएको उनको भनाइ छ ।

उनका अनुसार अहिले बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूलाई दुईवटा आइजिन नम्बर प्रदान गरिनेछ । तर, अहिले लगानी कम्पनी, होटेल र जलविद्युत् कम्पनीहरूको हकमा कतिपयलाई एक र कतिपयलाई दुई आइजिन दिइएको छ ।

एकमात्र आइजिन भएका कम्पनीहरूमा संस्थापक र सर्वसाधारण सेयर छुट्याउन नसक्दा बजारमा अनियमितता बढेको सिडिएससीको ठहर छ ।

'संस्थापक सेयरलाई लकिङ अवधि नसकी सर्वसाधारण सेयरमा परिवर्तन गरेर बिक्री गर्ने प्रवृत्ति देखिएको छ । यो निर्देशिकाले यस्ता विकृति रोक्नेछ,' पन्दाकको दाबी छ ।

निर्देशिकामा आइजिन नम्बर मिसाइसकेका कम्पनीहरूका लागि यो नियम लागु नहुने, तर मिसाइएका कम्पनीहरूले लकिङ अवधि सकिनुअघि निवेदन दिएमा छुट्टै आइजिन प्रदान गरिने व्यवस्था छ ।

नेपाल सेयर बजार लगानीकर्ता सङ्घले यो व्यवस्थाको स्वागत गर्दै छुट्टाछुट्टै आइजिन नम्बरले सेयरको प्रकृति स्पष्ट हुने र सर्वसाधारण लगानीकर्तालाई झुक्किनबाट जोगाउने बताएको छ ।

तर, नेपाल चेम्बर अफ कमर्स र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले यो व्यवस्थाले ठूला लगानीमा बाधा पुग्ने भन्दै विरोध जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्