
१७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शो काठमाडौंको भृकुटीमण्डपमा हुने छ । २०२५ को अटो शोको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने जनाइएको छ ।
यस वर्षको अटो शो हालसम्मकै भव्य हुने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगको सम्पूर्ण पक्षलाई एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
यस वर्षको अटो शो प्रदर्शनीमात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हुने अध्यक्ष चौधरीले बताए । नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो र विश्वसनीय अटो प्रदर्शनीका रूपमा स्थापित भएको उनको भनाइ छ । यस वर्षको संस्करणले अटो उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको उनले बताए ।
यस वर्षको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चार पांग्रे रोबोट र डिपल ईभीटोल यूएभी रहेको नाडाले जनाएको छ ।
‘गो फर मोर’ नारासहित आयोजना हुने १९ वटा चार पांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चारवटा दुई पांग्रे सवारी ब्रान्ड, ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवाप्रदायक कम्पनी सहभागी हुनेछन् । नाडाका अनुसार कुल १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।
करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको भृकुटीमण्डपको प्रदर्शनी स्थलको एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र रहने जनाइएको छ ।
प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा भिन्टेज मोटर शो विशेष आकर्षणका रूपमा रहनेछ । जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका ऐतिहासिक सवारीसाधन प्रदर्शन गरिनेछ ।
यसका साथै ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्माण भएका सवारी तथा अटो पार्ट्स देखाइनेछ । अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गरिने छ ।
ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम हुनेछन् । दैनिक रूपमा १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म नि:शुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् ।
प्रदर्शनीमा आगन्तुकका लागि सहज सुविधा र सुरक्षा सुनिश्चित पार्किङ सुविधा हुनेछ । चार पांग्रे, दुई पांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन, अग्रिम टिकट बुकिङ सुविधा, सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रणको पूर्ण व्यवस्था हुनेछ ।