
चितवन, २४ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी प्रतिस्पर्धामा रहेको चितवन–३ यसपटकको चुनावमा पनि ‘हट केक’ बनेको छ । एमाले र माओवादीको वाम गठवन्धनका साझा उम्मेदवार प्रचण्डविरुद्ध राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डे निकट प्रतिस्पर्धी छन् ।
निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको मतपरिणामअनुसार प्रचण्डले २४ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्व्रन्द्वी १९ हजार ५४ मत प्राप्त गरेका छन् ।
प्रचण्डविरुद्ध विवेकशील साझाबाट उम्मेदवार रहेका शरदराज पाठक भने चौथो स्थानमा छन् । उनले अहिलेसम्म २ सय ६५ मत मात्रै प्राप्त गरेका छन् ।
पत्रकारिताबाट राजनीतिमा सक्रिय रहेका पाठक आफ्ना माओवादी अध्यक्ष प्रचण्डका सहपाटी (क्लासमेट)का छोरा हुन् । बुवा उमेरका प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका शरदराजको मतपरिणाम हेर्दा चितवनमा उनले खासै प्रभाव राख्न नसकेको देखिन्छ । यद्यपि अझै धेरै मत गन्न बाँकी रहेकाले मतपरिणाम राम्रो हुने उनको आशा छ ।