
ललितपुर महानगरपालिकाले साइकलसहित आवतजावत गर्न मिल्ने आकासे पुल निर्माण गर्न लागेको छ । महानगरपालिकाले धोबीघाट चक्रपथमा साइकलसहित आवतजावत गर्न मिल्ने आकासे पुल निर्माण गर्न लागेको हो ।
महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नै पुल निर्माण कार्य यसै वर्षभित्र शुरू गर्ने उल्लेख गरेको छ । यसअघि सर्वसाधारणलाई बाटो काट्न अर्थात् आवतजावत गर्न मात्रै आकासे पुलहरू निर्माण गरिँदै आएका छन् । यद्यपि, केही सीमित स्थानमा अपाङ्गमैत्री आकासे पुलहरू पनि बनाउन थालिएको छ । यसका साथै लिफ्टसहितको आकासे पुल निर्माणको काम पनि भइरहेको छ । तर, नेपालमा साइकलसहित चढ्ने आकासे पुल भने बनाइएको छैन । महानगरले पहिलोपटक साइकलमैत्री आकासे पुल बनाउन लागेको हो ।
महानगरले पैदल यात्री मात्रै नभएर साइकल तथा ह्विल चेयरसमेत चढ्न मिल्ने आकासे पुललाई ‘पेडिस्ट्रेन एन्ड बाइसाइकल ब्रिज’ नामक परियोजनाका रूपमा अघि बढाउन लागेको हो ।
‘पेडिस्ट्रेन एन्ड बाइसाइकल ब्रिज’ नामक परियोजनाका लागि टेन्डर आह्वान गर्न मात्रै बाँकी छ । जुन यही आर्थिक वर्षभित्रै हुने महानगरपालिकाले जनाएको छ ।
पुल निर्माणका लागि चालू आर्थिक वर्षमा १ करोड बजेट छुटाइएको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईँले जानकारी दिए ।
एनका अनुसार गत(२०८१) असोज १२ गते महानगरपालिकाले परियोजनालाई स्वीकृत गरेको थियो । परियोजनाको डिजाइन ‘एमआरबी एन्ड एसोसियटस’ प्रालिले तयार गरेको हो ।
पहिलोपटक बन्न लागेको साइकलसहित चढ्न मिल्ने आकासे आकासे पुलको लागत करिब ५ देखि ६ करोडसम्म हुने अनुमान गरिएको छ । तर, आधिकारिक रूपमा महानगरपालिकाले लागत सार्वजनिक गरेको छैन ।

ललितपुर महानगरपालिकाले नै नेपालकै पहिलो लिफ्टसतिको आकासे पुल कुसुन्तीमा निर्माण गरिरहेको छ । अपाङ्गमैत्री हुनेगरी लिफ्ट सहितको उक्त आकासे पुल आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने महानगरपालिकाले जनाएको छ ।
कस्तो बन्छ नेपालकै पहिलो साइकलसमेत चढ्ने आकासे पुल ?
धोविघाटमा बन्ने यो आकासे पुलको उँचाइ ६.३ मिटर अर्थात् करिब २०.६ फिट हुनेछ । आकासे पुल चढ्न दुई विकल्प हुनेछन् । जसमा एक साइकलका लागि र अर्को सर्वसाधारणहरूका लागि हुनेछ ।
पहिलोमा स्टेपहरू अर्थात् सिडीहरू हुनेछन् । जसमा मानिसहरूले बाटो काट्न प्रयोग गर्नेछन् भने दोस्रोमा साइकलहरू जान सक्नेछन् ।
आकासे पुलका दुवैपट्टिका संरचनाहरू पूर्ण रूपमा कंक्रिटबाट बन्नेछन् भने बिचको पुल मात्रै फलामकै बनाइनेछ ।
धोविघाटको भित्रपट्टि अर्थात् चक्रपथ भित्रपट्टिबाट पुल चढ्दा पैदल यात्रीलाई दुई वटा ल्यान्डिङ पर्नेछन् । तर, साइकलमा जानेका लागि एउटै ल्यान्डिङ पर्नेछ ।

पुलको अर्कोपट्टि अर्थात् चक्रपथ बाहिरबाट आकासे पुल चढ्दा पैदल यात्रीलाई दुई वटा ल्यान्डिङ पर्नेछन् । तर, यस साइटबाट साइकल यात्रीहरूका लागि पनि दुई वटै ल्याडिङ पर्नेछन् ।
उकालो चढ्दा बिचमा केही भाग रेस्ट अर्थात् समथल राखिने छ । त्यसलाई ल्यान्डिङ भनिन्छ ।
साइकल चढ्न ९ डिग्रीको स्लोप बनाइनेछ । जहाँ करिब साढे दुई मिटरमा एउटा ल्यान्डिङ राखिनेछ ।
आकासे पुलका लागि चक्रपथभित्र २८.२७५ मिटर लम्बाईमा साइकल र पौदल यात्री हिँड्ने स्थान ओगट्ने छ भने चक्रपथ बाहिरपट्टि करिब ४८.५ मिटरको लम्बाई हुनेछ ।
आकासे पुल कंक्रिटले बन्ने भए पनि मुख्य पुल अर्थात् ग्रिडर फलामकै बनाइनेछ । ग्रिडरको अधिकतम उचाई ३.२४ अर्थात् साढे १० फिटको राखिनेछ । जुन पूर्ण रूपमा खुल्ला नै रहनेछ ।
पुल बन्ने क्रममा विद्युतको काम पनि हुने महानगरले जनाएको छ ।