
अमेरिकाको एरिजोनामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राति एक चिकित्सा परिवहन विमान उत्तरी एरिजोनामा दुर्घटना भएको हो ।
दुर्घटनापछि विमानमा आगो लाग्दा चार जनाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
न्यू मेक्सिकोको अल्बुकर्कस्थित सीएसआई एभिएसन कम्पनीको यो विमान फ्ल्यागस्टाफबाट करिब २०० माइल नौ हजार ३२१ किलोमिटर उत्तर–पूर्वमा रहेको चीन्ले हवाई अड्डानजिकै दुर्घटना भएको फक्स न्युजले जनाएको छ ।
विमानमा सवार व्यक्तिहरू चिकित्साकर्मी थिए । उनीहरू एक बिरामीलाई लिन अस्पताल जाँदै थिए ।
विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा विमानमा आगो लागेको समाचारमा उल्लेख छ ।
दुर्घटनाको कारण पत्ता लागेको छैन । अनुसन्धानको लागि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।