
बंगलादेशका मुस्तफालाई लामो समयदेखि ढाड दुख्ने समस्या थियो । स्वदेशकै अस्पतालमा नाम चलेका डाक्टरसँग उपचार गराउँदा पनि निको नभएपछि छिमेकी मुलुक भारतको कोलकातासम्म पुगे उनी । तै पनि समस्या उस्तै भएपछि झोला बोकेर सिधै काठमाडौंतर्फ लागे ।
काठमाडौं आइपुगेपछि एउटा होटलमा बसे । उनलाई विश्वास थियो– नेपालको उपचारले निको हुन्छु । भोलिपल्ट बिहान होटलबाट चेक आउट गरेर ब्यागसहित सिधै नर्भिक पुगेर ओपीडीमा नाम दर्ता गराए ।
नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो ।
कुरा गर्दै जाँदा थाहा भयो, उनी बंगलादेशबाट डा. राजीवसँगै उपचार गराउन नर्भिक आएका रहेछन् । उनले उपचार गराउने क्रममा आफूले धेरै अस्पताल चहारेको कथा सुनाए ।
डा. झाले परीक्षणबाट थाहा पाए– उनी क्रोनिक ब्याक पेन अर्थात् ढाड दुख्ने समस्याबाट पीडित रहेछन् ।
एमआरआईमा पनि नसा च्यापिएको देखियो । त्यसपछि डा. झाले उपचार शुरू गरे– फिजियोथेरापी गराए र ट्रान्सफोरामिनल ब्लक इन्जेक्सन लगाए । उपचार गर्दै जाँदा उनको दुखाई पूर्ण रूपमा हरायो । अहिले उनी डिस्चार्ज भइसक्नुभएको छ ।
मुस्तफाले पनि नर्भिकमा उपचारपछि लामो समयदेखिको पीडाबाट मुक्त भएकोमा खुसी व्यक्त गरे ।
‘उपचारपछि पीडामु्क्त हुँदा उहाँ निकै खुसी देखिनु भएको थियो,’ डा. झाले भनेन, ‘विशेषगरी दक्ष चिकित्सक, प्रविधिलगायतका कारण नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एसिया क्षेत्रकै नागरिकको विश्वसनीयता बढ्दै गएको छ ।’
विशेषगरी भारतबाट उपचारकै लागि नेपालका अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि बढिरहेको छ । ‘अझ नेपालसँग सीमा जोडिएका भारतीय गाउँ–गाउँबाट गाडी नै रिजर्भ गरेर समूहमा आउने र उपचार गरेर फर्कने क्रम बढिरहेको छ,’ डा. झाले भने ।
डा. झाले दक्ष चिकित्सक तथा अत्याधुनिक विश्वस्तरीय प्रविधिका कारण नेपाल पनि भारतजस्तै मेडिकल हबको रूपमा विकास हुने दिशातिर गइरहेको बताए ।
नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नर्भिकबाट बंगलादेशमात्र होइन, सात वटै महादेशका ३० देशका नागरिकले उपचार सेवा लिइसकेका छन् र विश्वका विभिन्न मुलुकबाट नर्भिकमा उपचार गराउन आउने क्रम जारी छ ।
‘हामी नर्भिक अस्पताललाई अझै विश्वसनीय र गुणस्तरीय बनाउने दिशामा अघि बढिरहेका छौं,’ उनले भने, ‘हाम्रा जनशक्ति तथा प्रविधि विश्वस्तरीय उपचार गराउन सक्षम पनि छन् ।’