
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टेस्ट बलरहरूको वरीयतामा भारतीय खेलाडी मोहम्मद सिराजले निकै ठूलो फड्को मारेका छन् । टेस्ट बलरहरूको पछिल्लो वरीयतामा उनी १२ स्थान माथि उक्लिएका छन् ।
भारत र इङ्ल्यान्डबीच हालै सम्पन्न पाँच टेस्टको शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनका कारण मोहम्मद सिराजले वरीयतामा यो सफलता हात पारेका हुन् । टेस्ट ब्याट्सम्यानहरूको वरीयतामा भारतका यशस्वी जैसवालले पनि गतिलो फड्को मारेका छन् । उनी तीन स्थान माथि उक्लिएका छन् ।
आईसीसीले बुधबार पछिल्लो वरीयता सार्वजनिक गरेको हो । यो वरीयतामा मोहम्मद सिराज १५ औं स्थानमा छन् । यसअघि उनी २७ औं वरीयतामा थिए । सिराजले इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टमा मात्र नौ विकेट लिएका थिए । उनले पहिलो पालीमा चार र दोस्रो पालीमा पाँच विकेट लिएका थिए ।
टेस्ट बलरहरूको वरीयतामा भारतका जसप्रित बुमराह पहिलो स्थानमा यथावत् छन् । दक्षिण अफ्रिकाका कागिसो राबडा दोस्रो, अस्ट्रेलियाका प्याट कमिन्स तेस्रो, न्युजिल्यान्डका म्याट हेनरी चौथो र अस्ट्रेलियाका जस हेजलउड पाँचौं स्थानमा आसिन छन् ।
यसैगरी, टेस्ट ब्याट्सम्यानहरूको वरीयतामा भारतका जैसवाल तीन स्थान माथि उक्लिएका छन् । उनी नयाँ वरीयताको पाँचौं स्थानमा आसिन छन् । अघिल्लो वरीयतामा उनी आठौं स्थानमा थिए । उनले पनि इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पाँचौं टेस्टमा शतक बनाउने उनी एकमात्र भारतीय ब्याट्सम्यान पनि हुन् । टेस्ट ब्याट्सम्यानहरूको पछिल्लो वरीयतामा इङ्ल्यान्डका जो रुट पहिलो, इङ्ल्यान्डकै ह्यारी ब्रुक दोस्रो, न्युजिल्यान्डका केन विलियम्सन तेस्रो र अस्ट्रेलियाका स्टिभ स्मिथ चौंथो स्थानमा छन् ।
यसैगरी, टेस्ट अलराउन्डरहरूको वरीयतामा इङ्ल्यान्डका जो रुट एक स्थान तल झरेका छन् । उनी नयाँ वरीयताको आठौं स्थानमा छन् । यसअघि उनी सातौं वरीयतामा थिए । अलराउन्डरतर्फ भारतका रविन्द्र जडेजा पहिलो, बंगलादेशमा मेहिदी हसन मिराज दोस्रो, इङ्ल्यान्डका बेन स्टोक्स तेस्रो, दक्षिण अफ्रिकाका वियान मुल्डर चौथो र अस्ट्रेलियाका प्याट कमिन्स पाँचौं स्थानमा छन् ।