
आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर-३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ९ जनाले आवेदन भरेका छन् ।
रास्वपाले आह्वान गरेको अनलाइन आवेदनमा ९ जनाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका हुन् । रास्वापा निर्वाचन आयोगले अनलाइनमार्फत् दर्ता गरी सदर भएका आकांक्षीको नाम बिहीबार सार्वजनिक गर्यो । रोचक कुरा चाहिँ यसरी आवेदन दिनेमा अधिकांश स्थानीय उम्मेदवार छन् । एक जना मात्र जिल्ला बाहिरका छन् ।
रास्वपाले सार्वजनिक गरेको नामावली अनुसार आकांक्षीमध्ये ६ जना भैरहवाका, दुई जना बुटवलका र एक भक्तपुरका छन् । हाल भक्तपुर भएपनि उनको माइती भने भैरहवामा नै हो । उम्मेदवार आकांक्षीमध्ये ५ जना पुरुष र चार जना महिला छन् ।
साउन ७ गतेदेखि २१ सम्म उम्मेदवारले आवेदन दिने समय थियो । रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले आयोगबाट प्राप्त नामावली सार्वजनिक गरेका थिए ।
रास्वपाले सार्वजनिक गरेका नामावलीमा एमाले पृष्ठभूमिका धेरै देखिएका छन् । सूची अनुसार १ नम्बरमा बुटवल–१६ निवासी सुलभ खरेल रहेका छन् । अमेरिकामा बस्दै आएका खरेल उपचुनावका लागि भनेर नेपाल फर्किएका व्यक्ति हुन् । कानूनका विद्यार्थी खरेलले सहकारी ठगीमा मुछिएका रविलाई कानूनी रूपमा सहयोग पुर्याएको बताइन्छ ।
यस्तै, दोस्रो नम्बरमा नाम रहेका सिद्धार्थनगर नगरपालिका–७ (भैरहवा) निवासी पार्थिवेन्द्र उपाध्याय एमाले पृष्ठभूमिका हुन् । उनी एमालेबाट निर्वाचित सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीका श्रीमान समेत हुन् ।
२०७४ सालमा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका उनको जमानत जफत भएको थियो । तेस्रो नम्बरमा छन्, सिद्धार्थनगर–९ निवासी डा. लेखजङ्ग थापा । भैरहवामा क्लिनिक सञ्चालन गर्दै आएका थापा न्यूरो सर्जन हुन् । चार नम्बरमा छन्, सिद्धार्थनगर ८ निवासी ज्ञानु पौडयाल । एमाले नेतृको रूपमा यसअघि परिचित पौडेल सहकारी अभियन्ता पनि हुन् ।
पाँच नम्बरमा सिद्धार्थनगर-१ निवासी जितबहादुर गुप्ता छन् । गुप्ता यसअघिका पनि उम्मेदवार हुन् । शेखरको नामले चिनिने गुप्तालाई आधिकारिक उम्मेदवार बनाउनैपर्ने दाबी रहेको बताइन्छ । मध्यपुर ठिमी भक्तपुर घर र माइती भैरहवा भएकी कुशुम महर्जन छैठौं नम्बरमा छन् ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेकी उनले उम्मेदवार बन्नका लागि समानुपातिक सूचीबाट नाम हटाउन निदेवन दिएकी थिइन् । सिद्धार्थनगर-३ निवासी रचना क्षेत्री सातौं नम्बरमा छन् । क्षेत्री रास्वपाको रुपन्देही कोषाध्यक्ष तथा निजी विद्यालय सञ्चालन हुन् । ८ औं नम्बर सिद्धार्थनगर–८ निवासी महिला उद्यमी पुनमकुमारी अग्रवाल छन् । अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् । ९ नम्बरमा बुटवल–१७ का मधु अर्याल छन् । अर्याल रुपन्देही–३ का रास्वपा सभापति समेत हुन् । रास्वपाका जिल्ला नेताहरूका अनुसार आवेदन धेरैको परे पनि ४–५ जनाभित्रै मुख्य प्रतिस्पर्धा बताइएको छ ।
रास्वपा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज आचार्यले अब उम्मेदवार छनोटको विधिअनुसार अघि बढ्ने जानकारी दिए । ‘यसका लागि साउन २३ र २४ गते उम्मेदवारको दाबी विरोध, २५ गते नामावली प्रकाशनपछि छलफल गर्ने र भदौ ११ सम्म उम्मेदवारसँग विभिन्न विषयमा प्रशिक्षण गरिने बताए । भदौ १२ र १३ मा आन्तरिक निर्वाचन गरी १५ गते उम्मेदवारको घोषणा गर्ने रास्वपाको तयारी छ ।
रास्वपाले यो उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । गत चैत महिनादेखि रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागारमा छन् । यो यही निर्वाचन क्षेत्रमै पर्छ । लामिछानेलाई भेट्न आउने नेता तथा कार्यकर्तासमेतले यहाँ रास्वपाको चहलपहल बढाएको छ भने यहाँ रहेका सबै वडालाई केन्द्रित गरेर शीर्ष नेताहरूले चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।
नेताहरूलाई भेट्दा लामिछानेले यो उपनिर्वाचनलाई जसरी पनि आफ्नो पक्षमा पार्नेगरी अगाडि बढ्न निर्देशन दिने गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै रुपन्देहीमा चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ ।
२०७९ सालको निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो ।