
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि शुरू भएको युद्ध अहिलेसम्म जारी छ । विश्वको भू-राजनीति र अर्थव्यवस्थालाई नै असर पर्नेगरी भएको दुई देशबीचको युद्ध अन्त्य गर्ने प्रयास सफल भइरहेका छैनन् ।
अहिले पनि पनि हिंसात्मक झडप, हवाई हमला र ड्रोन आक्रमणले युक्रेनको जनजीवन तहसनहस बनिरहेको छ । यही पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पछिल्लो समय भेटघाटको सम्भावना बढेको छ ।
ट्रम्पले युद्ध अन्त्य गर्न भेटघाटको प्रस्ताव राखेका छन् र क्रेमलिनले सकारात्मक जवाफ दिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बुधबार अमेरिकी राजदूत स्टिभ विटकफ र रुसी राष्ट्रपति पुटिनबीच भेटघाट भएको थियो । विटकफ ट्रम्पका दुत बनेर रुस गएका थिए ।
विटकफले यसअघि चार पटक मस्कोको भ्रमण गरिसकेका छन् । उनको प्रत्येक भ्रमणमा युक्रेन युद्ध अन्त्यसम्बन्धी कुराकानी भएको दाबी गरिन्छ तर, शान्ति वार्तामा कुनै ठूलो सफलता प्राप्त भएको छैन ।
बिहीबार पुटिनले संयुक्त अरब इमिरेट्सले ट्रम्पसँगको उनको भेटवार्ता आयोजना गर्न सक्ने बताएका थिए । यो वार्ता सम्भवतः अर्को हप्तामा हुने पुटिनको भनाइ छ ।
यसअघि, पुटिनले वार्ताको अन्तिम चरणको समयमा मात्र जेलेन्स्कीलाई भेट्ने बताएका थिए । युक्रेन र युक्रेनका युरोपेली साझेदार देशहरूले पुटिनको शर्तमा युद्ध अन्त्य हुने कुरालाई अस्वीकार गर्दै आएका छन् ।
ट्रम्प र पुटिनबीच भेटघाट हुने चर्चा चलिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त वार्तामा युक्रेन र युरोपेली देशहरू पनि सहभागी हुनुपर्ने अडान लिएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले भनेका छन्, ‘बैठकका विभिन्न ढाँचाहरू हुन्छन् । ती द्विपक्षीय र त्रिपक्षीय पनि हुन सक्छन् । तर, शान्तिका सन्दर्भमा युक्रेन र युरोपेली देशहरू पनि वार्तामा सहभागी हुनुपर्छ ।’
उनले युक्रेन कुनै पनि बैठकसँग नडराउने र रुस पनि डराउन नहुने भन्दै आफ्नो अडान राखेका छन् ।
बुधबार राति ह्वाइट हाउसमा आयोजित एक प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले जेलेन्स्की र पुटिन त्रिपक्षीय शिखर सम्मेलनमा सहमत हुने धेरै राम्रो सम्भावना रहेको दाबी गरेका थिए ।
गत महिना ट्रम्पले बीबीसीसँगको अन्तर्वार्तामा विटकफ ४ पटक मस्को गएर शान्तिको वातावरण तयार पार्न खोजे पनि रुस त्यसमा तयार नरहेको र यसले आफूलाई निराश बनाएको टिप्पणी गरेका थिए ।
ट्रम्पले पत्रकारहरूसमक्ष पुटिनसँग आफ्नो भेटघाट हुनु मात्रै आफ्नो सफलता नहुने बताए । ‘म यसलाई सफलता भन्दिनँ । हामी लामो समयदेखि युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका छौं । हजारौं युवाहरू मरिरहेका छन् । म कुरा टुङ्ग्याउन चाहन्छु ।’
विटकफले मस्को भ्रमण गरेकै समयमा ट्रम्पसँग आफ्नो फोनवार्ता भएको जेलेन्स्कीले दाबी गरेका छन् । उक्त वार्तामा युरोपेली नेताहरू पनि सहभागी थिए ।
जेलेन्स्कीले रुसको पैसा सकिए मात्र शान्तितर्फ कदम चाल्ने भन्दै कटाक्षसमेत गरेका छन् ।
ट्रम्पले युद्ध रोक्न पुटिनलाई दिएको अल्टिमेटमको समयसीमा शुक्रबारसम्म रहेको छ । तर, शुक्रबारसम्म पुटिन र ट्रम्पबीच कुनै सम्झौता हुने सम्भावना नरहेको सीएनएनको विश्लेषण छ ।
ट्रम्पको धम्कीका बाबजुद पनि रुसले युक्रेनमा ठूलो मात्रामा हवाइ हमला जारी राखेको छ ।
गत जनवरीमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले एकै दिनमा रुस र युक्रेनबीचको युद्ध समाप्त गर्न आफू सक्षम रहेको दाबी गरेका थिए । त्यसयता द्वन्द्व चर्किएको छ र ट्रम्पले मस्कोप्रति कडा अभिव्यक्ति दिन थालेका छन् ।
शान्तिका लागि पुटिनले राखेका सैन्य र राजनीतिक पूर्वशर्तहरू जेलेन्स्की र युरोपेली देशहरूले खारेज गर्दै आएका छन् । रुसले युक्रेन तटस्थ राज्य बन्नुपर्ने, सेना घटाउने र नेटोको सदस्य बन्ने आकांक्षा त्याग्नुपर्ने आफ्नो शर्त रहेको बताउँदै आएको छ ।
त्यस्तै, आफूले आंशिक रूपमा कब्जा गरेका दक्षिण-पूर्वका चार क्षेत्रबाट युक्रेनी सेना फिर्ता जानुपर्ने पुटिनको शर्त छ ।
रुसले युक्रेनको डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिज्जिया क्षेत्रसँगै २०१४ मै रुसमा गाभिएको क्रिमियालाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने शर्त पनि राखेको छ ।
रुसका पूर्वशर्तमध्ये केही पूरा गर्न सकिने संकेत ट्रम्पले देखाएका छन् । युक्रेनलाई नेटोबाट अलग राख्ने र रुसले कब्जा गरेका भू-भागलाई आफूले मान्यता दिन सक्ने संकेत ट्रम्पको छ । तर, यी दुवै शर्त युक्रेन र युरोपेली देशहरूले अस्वीकार गरेका छन् ।
यस्तो अवस्थामा ट्रम्प र पुटिनबीचको भेटवार्ताले उक्त क्षेत्रमा शान्ति स्थापना गर्ला भन्ने प्रश्नमा धेरै संशय लुकेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।