२५ जेठ २०८३, सोमबार
मार्सीको सुवासिलो र पौष्टिक खिर

तिज विशेष दर: मेथी झानेको मार्सीको खिर र निहुरोको मुन्टाको अचार [बनाउने विधिसहित]

साउन २४, २०८२
काठमाडौं
तिज विशेष दर: मेथी झानेको मार्सीको खिर र निहुरोको मुन्टाको अचार [बनाउने विधिसहित]

तिज पर्वको रमाइलो केवल नाचगान र पूजा–आराधनामा मात्र सीमित हुँदैन, यसमा स्वादिलो परिकारहरूको पनि विशेष स्थान हुन्छ । विशेषगरी तिजको व्रत र परिकारले पनि माहोललाई अझै रंगिन बनाइदिन्छ ।

तिजको दर खाने समय नजिकिँदै गर्दा प्रस्तुत छ जुम्लेली मार्सी चामलबाट बन्ने सुवासिलो र पौष्टिक खिर, जसलाई मेथीले झानेर अझ स्वादिलो बनाउन सकिन्छ, साथै यससँगै खाने निहुरोको मुन्टाको अचार, जुन स्वादसँगै स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ ।

यी दुई परिकारले तिजको भोजमा स्वाद, पोषण र परम्पराको सुगन्ध थपिदिनेछन् । अब जानौं घरमै कसरी बनाउने त :

चाहिने सामग्री

जुम्ली मार्सी चामल- ५०० ग्राम

शुद्ध नेपाली घ्यु- आधा कप

भैँसीको दूध- दुई लिटर

कालो मरिचको धुलो- आधा चम्चा

नरिवल- १० ग्राम

काजु- सात पिस

किसमिस- १० ग्राम

सख्खर या चिनी- एक कप

सुक्मेलको धुलो- एक चिम्टी

ठूलो बदाम- सात पिस

मेथीको गेडा- १/३ चम्चा

बनाउने विधि

जुम्लेली मार्सी चामलाई दुई या तीन पटक चिसो पानीले पखालेर कम्तीमा ४५ मिनेट भिजाएर राख्ने । बाक्लो ढलौट या किटको कसौडीमा दूध हालेर उम्लन दिने ।

अब भिजेर बसेको मार्सी चामलको पानी तारेर दूधमा ओइराउने । सानो आचमा चलाई-चलाई एक घन्टा पन्ध्र मिनट पकाउने ।

अरू ताइचीन चामलभन्दा मार्सी चामल पाक्न केही ज्यादा समय लाग्ने गर्छ। अब सपक्क हुन लागेपछि मरिचको धुलो, सुक्मेलको धुलो र सख्खर या चिनी आफ्नो इक्छाअनुसार हाल्ने या सुगरफ्रि खाने हो भने गुलियो वस्तु नहाल्दा पनि हुन्छ । गुलियो भन्ने कुरा हाम्रो जिब्रोले मात्र मागेको हो ।

अब आधा घ्यु प्यानमा तताएर काटेर तयारी अवस्थामा राखेको ड्राइफ्रुटलाई खैरो हुनेगरी भुटेर मिसाई दिने ।

अब एकपटक राम्ररी चलाएपश्चात मार्सी चामलको खिर तयार हुन्छ । अन्य चामलको तुलनामा जुम्ली मर्सी चामल अर्गानिक हुने र भिन्न स्वाद चाख्न पाइने हुँदा धेरैलाई मन पर्न सक्छ ।

अब पाकेको खिरलाई पस्कँदा बाँकी घ्युलाई तताएर मेथी पड्काउने र खिरको भागमा झानेर दिने ।

खिरसँग निउरोको मुन्टाको अचार दिँदा भिन्न स्वाद र अझ स्वास्थ्यवर्द्धक पनि हुन्छ ।

कसरी बन्छ निहुरोको अचार?

निहुरोको अचार

कलिलो ताजाको निहुरोको मुन्टा- २०० ग्राम

नुन हालेर उसिनेको मध्यम साइजको आलु- २ पिस

नुन - स्वादअनुसार

बेसार- आधा चम्चा

तोरीको तेल- ३ चम्चा

आलस, सिसल, सेतो तिल, झुसे तिल या भाङ्गको छोप- ४ चम्चा

चुक अमिलो, कागतीको रस या इम्लीको झोल- ३ चम्चा

हरियो खुर्सानी- ४ पिस

खुर्सानीको धुलो- आधा चम्चा

हरियो धनिया- आधा मुठा

बनाउने विधि

- उम्लेको पानीको थोरै नुन हालेर हलुका बफ्याउने र चिस्याउने ।

- अब आलुलाई ताछेर  फुटाउने र निहुरोको मुन्टामा मिसाउने  ।

- नुन खुर्सानी र अमिलो छोप हालेर मोल्ने । ताप्केमा तेल तताउने र मेथी फुराउने अनि चिरेको हरियो खुर्सानी बेसार हालेर झान्ने ।

- थोरै चिसो पानी छर्केर पुन मोल्ने र हरियो धनिया छर्केर पस्कने ।

salt training

कमेन्ट गर्नुहोस्