
पाकिस्तानी टोलीका ब्याट्सम्यान हसन नवाजले आफ्नो ‘डेब्यू’ खेलमै कमालको प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । उनकै उत्कृष्ट प्रदर्शनका कारण पाकिस्तानले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई उसैको घरेलु मैदानमा पाँच विकेटले हरायो ।
जितसँगै भ्रमणकारी टोली पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २२ वर्षीय हसन नवाजको यो ‘डेब्यू’ खेल थियो । उनले टी–२० अन्तर्राष्ट्रिय भने यसअघि नै खेलिसकेका छन् ।
हसन नवाजले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्न बाँकी छ । पहिलो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४९ ओभरमा लआउट हुनुअघि दुई सय ८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एभिन लेविसले सर्वाधिक ६० रन बनाए ।
उक्त दिवा–रात्री खेलमा क्यारेबियन टोलीका लागि कप्तान साई होपले पनि ५५ रनको योगदान गरे । रोस्टन चेजले पनि ५३ रन बटुलेका थिए । पाकिस्तानी टोलीका बलर साहिन शाह अफ्रिदीले चार र नसिम शाहले तीन विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ४८.५ ओभरमा पाँच विकेट गुमाएर दुई सय ८४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । पाकिस्तानको जितमा हसन नवाजले अविजित ६३ रनको योगदान गरेका थिए । उनले केवल ५४ बलमा तीन छक्का र पाँच चौका पनि हिर्काए ।
हसन नवाज आफ्नो ‘डेब्यू’ खेलमै म्यान अफ दि म्याच पनि घोषित भए । कप्तान मोहम्मद रिजवानले पनि टोलीका लागि ५३ रनको योगदान गरे । बाबर आजमले ४७ र हुसैन तलतले अविजित ४१ रन बटुले । वेस्ट इन्डिजका बलर सामर जोसेफले दुई विकेट लिए ।
एकदिवसीय शृंखलाको दोस्रो खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि भ्रमणकारी टोली पाकिस्तानले वेस्ट इन्डिजलाई २–१ ले हराएको थियो ।