
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । आइतबार दिउँसो नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।
'महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ,' उनले भने ।
खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।
स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।