कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो । उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उनले बताए ।
आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागार भित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताए ।