२४ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

ट्राफिक नियम उलंघनको जरिवाना बढ्दै, मरेका मान्छेको हड्डी चोरेर बिक्री

साउन २६, २०८२
काठमाडौं
ट्राफिक नियम उलंघनको जरिवाना बढ्दै, मरेका मान्छेको हड्डी चोरेर बिक्री

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ । 

आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले चौधरीको परिवारलाई पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

००००

सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ । 

सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मस्यौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ ।

००००

खडेरीको प्रभावमा परेको मधेश प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छभने सबैभन्दा कम महोत्तरीमा ६१।५ प्रतिशत रोपाइँ भएको छ ।

००००

ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् ।

००००

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् ।

००००

निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् ।

आज निजी विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

००००

भूमि विधेयकका केही दफा स्पष्ट नभएका भन्दै सांसदलाई थप अध्ययनका लागि २ दिनको समय दिइएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकले केही बुँदा स्पष्ट नभएको भन्दै सांसदहरूले अध्ययनको समय माग गरेपछि यस विषयमा साउन २७ गते छलफल गर्ने गरी तय भएको सभापति कुसुमदेवी थापाले बताइन् ।

००००

नेपाल एफसी यू–२० महिला एसियन कप छनोटको खेलमा बलियो उत्तर कोरियासँग ११–० गोलले पराजित भएको छ ।

समूह एको अन्तिम खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले फराकिलो अन्तरको पराजय व्यहोरेको हो । उत्तर कोरियासँग नेपालले पहिलो हाफमा ५ र दोस्रोमा ६ गोल खान पुग्यो ।

००००

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच लामो कुराकानी भएको छ । खनालको निवास डल्लुमा आइतबार दिउँसो नेताद्वयबीच कुराकानी भएको हो ।

समाजवादी मोर्चामा रहेका दुई दलका शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको ती नेता निकट स्रोतले बतायो ।  

००००

काठमाडौंको पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी चोरेर बेचेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आर्यघाटमा लामो समय काम गरेका घाटे (शव जलाउने व्यक्ति) गणेश ढकाल छन् ।

प्रहरी वृत्त गौशाला प्रमुख डीएसपी शुकदेव खनालका अनुसार ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा झिकेको देख्ने मलामीले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालिएको छ ।

००००

विगत ३ वर्षयता लिखित र ट्रायल दुवै पास भएका २३ लाख ४७ हजार सेवाग्राहीले अझै सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकेका छैनन् ।

सम्बन्धित यातायात कार्यालयमा राजस्व समेत बुझाइसके पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गर्न नसकेका हुन् ।

००००

२०७२ सालदेखि विवादास्पद डेडिकेटेड र ट्रंक लाइनको महसुल उठ्ने गरी सहजीकरण गर्न बनाइएको प्रशासकीय पुनरवलोकन समिति बेकामे बनेको छ । 

‘भ्रष्टाचारको आरोप लागेका’ तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्त भएलगत्तै ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले प्रशासकीय पुनरवलोकनका लागि धरौटी रकम २५ बाट ५ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्