
वाणिज्य बैंकहरूको नाफामा अत्यधिक वृद्धि देखिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा वाणिज्य बैंकहरूको नाफामा उछाल आएको देखिएको हो । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार केही बैंकको नाफामा अत्यधिक वृद्धि देखिएको छ भने केहीको सामान्य सुधार आएको छ ।
हालसम्म ७ वाणिज्य बैंकले चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्, जसमा ६ वटा बैंकको नाफा वृद्धि भएको छ भने एक बैंकको नाफामा मात्रै गिरावट आएको छ ।
हजार प्रतिशतभन्दा अत्यधिक खुद नाफा !
कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको थियो । बैंकले देखाएको नाफालाई तुलना गर्दा बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिन्छ । तर, गत आर्थिक वर्षमा बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो ।
अहिले असार मसान्तसम्मको तथ्याङ्कमा इम्पेरमेन्ट चार्ज परिवर्तन गरेका कारण बैंकको खुद नाफामा अत्यधिक वृद्धि देखिएको हो । चौथो त्रैमाससम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रहेको देखिएको छ । २०८१ असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ थियो ।
कृषि विकास बैंकको नाफा ४८ प्रतिशत वृद्धि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको खुद नाफा ४८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षसम्ममा बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ७.२१ प्रतिशत घटेको छ । त्यस्तै, गत आवमा बैंकको कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा भने ४१.२९ प्रतिशत बढेको छ ।
बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेको छ । इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा झरेको छ । जसका कारण खुद ब्याज आम्दानी घटे पनि सञ्चालन मुनाफा र खुद नाफा बढेको देखिन्छ ।
यस बैंकले २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ । वितरण योग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
३ गुणा बढ्यो सिद्धार्थ बैंकको नाफा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडको वितरण योग्य मुनाफा ३ गुणाले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा सिद्धार्थ बैंकको वितरण योग्य मुनाफा २२० प्रतिशतले बढेको हो ।
अघिल्लो आवमा बैंकको वितरण योग्य मुनाफा ५८ करोड रुपैयाँ थियो । गत आवमा बैंकको विवरण योग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन करिब २२० प्रतिशतले बढी हो ।
बैंकको खुद नाफा १०.२४ प्रतिशतले बढेको छ । गत आवमा यस बैंकको खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो ।
बैंकले गत आवमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले बढी हो । त्यस्तै, सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ र सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको बढेर कुल ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा भने २.६२ प्रतिशतमा रहेको छ ।
९२ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा
गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंक लिमिटेडको नाफा ९२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म यस बैंकको खुद नाफा ९२.४५ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षमा बैंकले कुल २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ९२.४५ प्रतिशत बढेको छ । त्यस्तै, गत आवमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ । यसका साथै खुद फी तथा कमिसन आम्दानी १८.१६ प्रतिशत, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज गत आवमा १ अर्ब ३९ करोडबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ । जसले गर्दा बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको छ ।
एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढ्यो
गत आर्थिक वर्ष २०८१/८२ मा एभरेस्ट बैंक लिमिटेडको खुद नाफा ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३२.८१ प्रतिशतले बढेको छ ।
बैंकको वितरण योग्य मुनाफा भने ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ ।
गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

सानिमा बैंकको नाफामा सामान्य वृद्धि
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो नाफामा ७ प्रतिशतले बढाएको छ । गत आवको चौथो त्रैमाससम्म बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले ७.२५ प्रतिशतले नाफा बढाएको छ ।
बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २.९७ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यस बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा पनि नाफामा वृद्धि भएको छ । गत आवमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवसम्म १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
वितरण योग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको यस बैंकको खराब कर्जाको अनुपात १.५१ प्रतिशतले बढेर ३.०१ प्रतिशत पुगेको छ ।
सिटिजन्स बैंकको नाफामा भने सामान्य गिरावट
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफामा गिरावट आएको हो ।
आर्थिक वर्ष २०८१/८२ सम्म यस बैंकले कुल १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा २.०८ प्रतिशतले कमी आएको छ ।
बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५.१३ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा भने २.३२ प्रतिशत घटेको छ ।
बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ, जसले गर्दा इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ । यसले बैंकको ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको छ ।