
भारतीय टोलीका दुई प्रभावशाली खेलाडी रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ ।
तर, यी दुवै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन्न्यास लिएका छैनन् । त्यसैले यी दुई खेलाडीबारे समय–समयमा विभिन्न समाचार सार्वजनिक भइरहन्छन् ।
यसैबीच, रोहित र विराटको विषयलाई लिएर अर्को चर्चा शुरू भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, विराट र र रोहितले निकट भविष्यमा अस्ट्रेलियाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएका छन् ।
अस्ट्रेलिया विरुद्धको शृंखलापछि यी दुवै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने बताइएको छ । तर, बीसीसीआईले यी दुवै पूर्वकप्तानलाई अस्ट्रेलिया विरुद्धको शृंखलाअघि लिस्ट ‘ए’ प्रतियोगिता खेल्न लगाउने सम्भावना छ ।
अस्ट्रेलिया विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अक्टोबरमा खेलिने छ । त्यसअघि भारतको ‘ए’ टोलीले अस्ट्रेलियाएको ‘ए’ टोलीसँग लिस्ट ‘ए’ प्रतियोगिता खेल्नेछ । त्यो प्रतियोगितामा विराट र रोहितले पनि सहभागिता जनाउने सम्भावना छ ।
यसअघि, लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका खेलाडीलाई बीसीसीआईले रणजी ट्रफी खेल्न पठाउँथ्यो । रणजी ट्रफीमा आफ्नो क्षमता प्रदर्शन गरेपछि मात्र खेलाडीहरू पुन: राष्ट्रिय टोलीमा फर्कन पाउँथे ।
सोही प्रावधानअनुसार, रोहित र विराटलाई लिस्ट ‘ए’ प्रतियोतिगामा सहभागी गराउन लागिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । अस्ट्रेलिया विरुद्धको लिस्ट ‘ए’ प्रतियोगिता सेप्टेम्बर ३०, अक्टोबर ३ र अक्टोबर ५ तारिखमा खेलिने छ ।
‘सिनियर खेलाडीलाई विजय हजारे ट्रफी खेलाउने तयारी भएको थियो तर, रोहित र विराटले विजय हजारे ट्रफी पूरै अवधि खेल्न सक्ने अवस्था छैन । त्यसैले यी दुवै खेलाडीलाई एकदिवसीय शृंखलाअघि लिस्ट ए प्रतियोगिता खेलाउने विषयमा छलफल भइरहेको छ,’ बीसीसीआई स्रोतलाई उदृत गर्दै प्रकाशित समाचारमा भनिएको छ ।
लामो समय राष्ट्रिय टोलीबाट खेलिसकेका सिनियर खेलाडीहरुले बीसीसीआईको निर्देशनमा यसअघि पनि रणजी, विजय हजारेलगायतका प्रतियोगिता खेलिसकेका छन् । विराट र रोहितले पनि यसअघि आफ्नो क्षमता प्रमाणित गर्न रणजी ट्रफी खेलेका थिए ।