
राष्ट्रपति रामचन्द्र पौडेलले कानून व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताएका छन् ।
नेपाल कानून व्यवसायी परिषद्को ३२ औं परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को का अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताए ।
'विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचैन कायम हुन्छ,' राष्ट्रपति पौडेलले भने, 'विधिको पूर्ण पालना गरी न्यायपूर्ण रीतिथिति बसाल्न कानून व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।'
राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउँदै जहाँ सुकैका जो कोही भए पनि कानून व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानुन व्यवसायीले पुर्याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईंहरूको अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानूनी जनशक्ति आवश्यक पर्ने बताए ।