
जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । गुठी संस्थानले नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो ।
महासङ्घले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले जानकारी दिए ।
आक्रमणमा परी र महासङ्घका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव महतो, पत्रकार दिवाकर रायलगायत छ जनाभन्दा बढी पत्रकार घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
महासचिव महतोको खुट्टामा चोट लागेको छ । अध्यक्ष बन्जाराको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ भने दिवाकरको टाउकोमा चोट लागेको छ ।
जनकपुरधामस्थित भूतनाथ महादेवको दक्षिणतिर पत्रकार महासङ्घले चार कट्ठा जग्गा लिजमा लिएको छ । नेपाल बार एसोसिएसन जनकपुरधामले भने साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा कानुन व्यवसायीलाई गाडी पार्किङ गर्न आह्वान गरेको थियो ।
महासङ्घको जग्गा बारले बलजफ्ती कब्जा गरेपछि विवाद सुरु भएको हो । प्रदेश अध्यक्ष बनजाराले गुठीसँग विधिवत् रूपमा सबै प्रक्रिया पूरा गरेर वार्षिक रु तीन लाख एक हजार १०० भाडा तिर्नेगरी चार कट्ठा जग्गाको सम्झौता भएको बताए ।