२८ जेठ २०८३, बिहीबार

स्कटल्यान्डबाट क्रिकेट खेल्न न्युजिल्यान्ड छाड्दै टम ब्रुस

साउन २८, २०८२
काठमाडौं
स्कटल्यान्डबाट क्रिकेट खेल्न न्युजिल्यान्ड छाड्दै टम ब्रुस

न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान टम ब्रुसले आफ्नो खेल जीवनको नयाँ अध्याय शुरू गर्ने भएका छन् । अब उनले न्युजिल्यान्डको तर्फबाट क्रिकेट नखेल्ने निर्णय लिएका छन् ।

३४ वर्षीय ब्याट्सम्यान टम ब्रुसले अब न्युजिल्यान्ड छोडेर स्कटल्यान्डको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने निर्णय लिएका हुन् । उनले यसै महिना स्कटल्यान्डको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्नेछन् ।

यसै महिनाको अन्त्यमा क्यानडामा आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृंखला आयोजना हुँदैछ । उक्त शृंखलामा स्कटल्यान्ड पनि सहभागी हुनेछ ।

सोही शृंखलामार्फत टम ब्रुसले स्कटल्यान्डको टोलीबाट ‘डेब्यू’ गर्ने समाचारमा जनाइएको छ । लिग–२ शृंखला अगस्त २७ तारिखदेखि शुरू हुनेछ ।

टम ब्रुसको पिता स्कटल्यान्डको राजधानी एडिनबर्गमा जन्मिएका हुन् । सोही कारणले टम ब्रुसले पनि स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका हुन् ।

ब्रुसले यसअघि सन् २०१६ मा स्कटल्यान्ड डेभलपमेन्ट टोलीबाट पनि खेलेका थिए । त्यसपछि उनले न्युजिल्यान्डको टोलीबाट खेल्न थालेका हुन् ।

उनले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट १७ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । त्यसमा उनले कुल दुई सय ७९ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित ५९ रन हो ।

यसका अतिरिक्त उनले ९३ वटा प्रथम श्रेणीको खेल पनि खेलेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले कुल ६ हजार दुई सय ६७ रन बनाएका छन् ।

‘मेरो परिवारको स्कटल्यान्डसँग निकै पुरानो र घनिष्ठ सम्बन्ध छ । स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो,’ टम ब्रुसले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्