
गुण्डा नाइके भनिएका चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता भएसँगै बुधबारबाट उनीहरूको बयान समेत शुरू भएको छ । यही साउन १६ गते चक्रपथस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेका गुरुङसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
‘स्क्रिनिङ’ गर्दा १९ जनालाई मात्रै मुद्दा चलाउनुपर्ने देखिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार कसुरमा अदालतमा म्याद थप गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
महाराजगञ्ज चुनदेवी बस्ने गुरुङसहित यामु पौडेल, बाँके नौवास्ताका गणेश बहादुर बोगटी, काठमाडौं वसुन्धराका निराजन पौडेल, कोटेश्वरका रोशन सुवेदी, चाँगुनारायणका रोजेश खड्का, राहुल खड्का, हात्तीगौडाका सन्दिप केसी, ललितपुर सातदोबाटोका सौरभ सुनार, सीतापाइलाका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको छ ।
यसैगरी, मकवानपुरका रितिक लामा, काठमाडौं भोटेबहाल बस्ने चन्द्रदेव कार्की, बूढानीलकण्ठका जीतबहादुर लामा, सिन्धुपाल्चोकका प्रकाश गोले, ओखलढुंगाका अमिर आलेमगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र सफल भन्ने सुजल शाहीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो ।
अभियोगपत्र दायर गरेकामध्ये गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल, रितिक लामा यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेर सजाय भुक्तान गरेको अनुसन्धानबाट खुलेको छ ।
आरोपीविरुद्ध सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ र ११८ बमोजिमको मागदाबी लिइएको छ ।