
लागुऔषध कारोबारीलाई समात्न प्रहरीले धनुषामा गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंबाट खटिएको टोलीले धनुषास्थित मिथिला नगरपालिका– २ मा गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।
ब्यूरोका अनुसार पक्राउ परेका पप्पु साह र बारा परवानीपुरकी सेलोदेवी रामको साथबाट २०८ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पप्पुको दाहिने खुट्टामा गोली लागेको छ । उनलाई प्रादेशिक अस्पताल धनुषामा उपचारका लागि लगिएको छ ।
ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार साह यसअघि तीन पटक लागुऔषध कारोबारमै पक्राउ परेर जेल सजाय भुक्तान गरिसकेका अभियुक्त हुन् ।
साहलाई २०६१ मा १० ग्राम खैरो हेरोइनसहित ब्यूरोले पक्राउ गरेको थियो । उनी पाँच वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।
त्यस्तै २०६९ जेठ १३ मा लागुऔषधसहित पक्राउ परेका साह दुई वर्ष कैद र एक लाख जरिवाना तिरेर छुटेका प्रहरीको क्राइम रेकर्ड सिष्टम (सीआरएस)मा देखिन्छ ।
पछिल्लो पटक भने २०७९ जेठ १३ मा प्रहरी वृत्त थानकोटले साहलाई लागुऔषध मुद्दामा पक्राउ गरेको थियो ।
उनी दुई वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।
शुरूमा ब्यूरोले रामलाई मिथिला नगरपालिका- २ नक्टाझिजबाट नियन्त्रणमा लिएको थियो।
उनीबाट एक सय ८ ग्राम खैरो हेरोइन बरामद भएपछि उनकै बयानका आधारमा प्रहरीले साहलाई खोजी गरेको थियो ।
साहले प्रहरी देख्नेबित्तिकै घरेलु हतियार प्रहार गरेर भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गर्नुपरेको ब्यूरो प्रमुख कोइरालाले जानकारी दिए ।
साहको साथबाट प्रहरीले सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।