
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले कजाकिस्तान खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रुपमा उनलाई टोलीमा भित्र्याएको हो ।
काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियाकी सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ ।
२९ वर्षीया अलेना अपोजिट हिटर हुन् । अलेनाले कजाकिस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् ।
उनले एभीसी महिला च्याम्पियन्स लिग पनि खेलिसकेकी छन् । दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध गरेपछि आफ्नो टोली अझ सन्तुलित र मजबुत बनेको काठमाडौं स्पाइकर्सले जनाएको छ ।
पहिलो सिजनमा काठमाडौं स्पाइकर्सबाट टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए । एभरेष्ट महिला भलिबल लिगका लागि प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने क्लबले जनाएको छ ।
काठमाडौं स्पाइकर्स पहिलो संस्करणमा तेस्रो भएको थियो । दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर हुन् ।
काठमाडौं स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।