
नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’को सिजन-३ आगामी भदौको पहिलो साता आयोजना हुने भएको छ ।
विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोतिगामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुनेछन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको छ । एकेडेमी नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् ।
नविता नौ पटककी नेपाल च्याम्पियन खेलाडी हुन् । प्रतियोगिता आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो ।
यसपटक याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभीएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओर्ल्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस, गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी १० क्लबले उपाधिका लागि भिडन्त गर्नेछन् ।
एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थललाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् । टेबलटेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले पनि विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् ।
हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । पछिल्ला संस्करणको तुलनामा पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । पुरस्कार राशी बढाएर चार लाखबाट ६ लाख रूपैयाँ पुर्याइएको जानकारी नविताले दिइन् ।
लिगको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५–७५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बुधबार नै आयोजक च्याम्पियन्स एकेडेमीले तीन सह–प्रायोजकका रूपमा सामाजसेवी एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालिसँग सम्झौता गरेको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभीएम र दोस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेका थिए । यसपटक भने पुलिस क्लबको टोली प्रतियोगितामा सहभागी छैन ।