३० जेठ २०८३, शनिबार

मलेसिया रोजगारीमा सिन्डिकेट लाद्‌न खोजिएको भन्दै व्यवसायी मञ्चको आक्रामक अभियान

साउन २९, २०८२
काठमाडौं
मलेसिया रोजगारीमा सिन्डिकेट लाद्‌न खोजिएको भन्दै व्यवसायी मञ्चको आक्रामक अभियान

मलेसिया रोजगारीमा केही व्यक्ति र समूहले सिन्डिकेट कायम गर्ने प्रयासले नेपाली श्रमिक र व्यवसायीको भविष्य जोखिममा परेको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आक्रामक अभियान शुरू गरेको छ ।

मञ्चले नेपाल सरकारका उच्च तहदेखि अन्तर्राष्ट्रिय निकायसम्म कूटनीतिक पहल थालेर सिन्डिकेटको सञ्जाल तोड्ने घोषणा गरेको हो ।

मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वको प्रतिनिधिमण्डलले साउन २७ र २८ गते सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गरी यो विषयमा ध्यानाकर्षण गराएको छ । 

मंगलबार मञ्चले सभामुख देवराज घिमिरे र उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई ज्ञापनपत्र बुझाएर सिन्डिकेटविरुद्ध कदम चाल्न आग्रह गरेको थियो । 

त्यसैगरी, बुधबार अर्थमन्त्री विष्णु पौडेल र श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई भेटेर पारदर्शिता र निष्पक्षताको माग गरेको छ । अध्यक्ष रावलले भेटका क्रममा मलेसिया भर्ना प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र श्रमिक हित सुनिश्चित हुनुपर्नेमा जोड दिए । 

‘सिन्डिकेटले लाखौं नेपाली श्रमिक र व्यवसायीको भविष्य जोखिममा पार्छ,’ उनले भने, ‘सरकारले निष्पक्ष र खुला प्रक्रिया अवलम्बन गर्नुपर्छ ।’ 

मञ्चले मलेसिया सरकारसँग हुने भनिएको एमओयूमा तीनवटा विशेष प्रावधानमार्फत् सीमित व्यवसायीलाई एकाधिकार दिने प्रयास भइरहेको दाबी गर्दै यसले निष्पक्ष प्रतिस्पर्धा र समान अवसरको सिद्धान्तमाथि आघात पुग्ने ठहर गरेको छ ।

अर्थमन्त्री पौडेलले मञ्चको चिन्तालाई सम्बोधन गर्दै श्रमिक हितविरुद्धका कुनै पनि व्यवस्थालाई सरकारले प्राथमिकता नदिने प्रतिबद्धता जनाए । ‘सिन्डिकेटजस्तो अभ्यासलाई रोक्न कदम चाल्छौं,’ उनले भने । 

त्यस्तै, सचिव पुस्करले वैदेशिक रोजगार क्षेत्रमा नीतिगत स्पष्टता र समन्वयको आवश्यकता औंल्याउँदै मन्त्रालय सुधारका लागि प्रतिबद्ध रहेको बताए । 

मंगलबारको भेटमा सभामुख घिमिरेले सिन्डिकेटले वैदेशिक रोजगार क्षेत्रको विश्वसनीयता घटाउने र श्रमिक-व्यवसायी दुवैलाई हानि पुग्ने भन्दै सम्बन्धित निकायसँग तत्काल छलफल गर्ने आश्वासन दिए । 

सभापति खानले पनि समान अवसरको पक्षमा समितिको सजगता रहने बताए ।

मञ्चले यो अभियानलाई निरन्तरता दिने योजना बनाएको छ । निकट भविष्यमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न राजनीतिक दलका सचेतक र अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूसँग छलफल गर्ने तयारी छ । 

साथै, मलेसियामै पुगेर यो मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उठाउने रावलको योजना छ । 

मञ्चले हालै सय संख्याको बाध्यकारी प्रावधान हटाएर म्यानपावर नवीकरणमा सहजीकरण गरेकोमा सरकारलाई धन्यवाद दिएको छ, तर सिन्डिकेटका कारण व्यवसायीहरू कामबाट वञ्चित हुने अवस्था आउन सक्ने चेतावनी पनि दिएको छ ।

मञ्चले रोजगारदाता मुलुकका निजी संस्था, नेपाली नियोग र अन्य सरोकारवालासँग निरन्तर समन्वय गरिरहेको छ ।

‘हामी सबै व्यवसायीलाई एकताबद्ध भएर यो अभियानमा सहयोग गर्न आह्वान गर्छौं,’ रावलले भने । यो पहलले नेपाली श्रमिक र व्यवसायीको हित संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्