११ साउन २०८३, सोमबार

पछाडि परेका समुदायको प्रतिनिधित्व बढाउने पार्टी कांग्रेस हो : देउवा

साउन ३०, २०८२
काठमाडौं
पछाडि परेका समुदायको प्रतिनिधित्व बढाउने पार्टी कांग्रेस हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गराउन कांग्रेसले प्रभावकारी अग्रसरता लिएको बताएका छन् ।

पार्टी निकटको नेपाल मगर संघको तेस्रो महाधिवेशनको शुक्रबार केन्द्रीय कार्यालय सानेपामा उद्‌घाटन गर्दै देउवाले बीपी कोइरालाको पालादेखि नै कांग्रेस प्रतिनिधित्व गराउने पार्टीका रूपमा परिचित रहेको बताए ।

‘नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले विक्रम संवत् २०१६ सालको बजेटमा पहिलो पटक क्षेत्रीय भाषालाई प्राथमिकता दिँदै प्राथमिक तहसम्म अध्ययन अध्यापनको लागि आवश्यक बजेट विनियोजन गरेर विभिन्न मातृ भाषाको संरक्षण र सम्वर्द्धनको शुरूआत गर्नुभएको थियो । मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्नका लागि मेरै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बीपी कोइरालाले शुरूआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको हुँ,’ देउवाले भने, ‘पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिंगको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले कर्णाली, दलित, महिला, जनजाति र मधेशी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्न ‘कदमजम’ अभियान अंगीकार गरी नेपाली कांग्रेसलाई देशकै समावेशी पार्टीको रूपमा विकास गरिएको छ ।’

तथापि, आदिवासी जनजाति समुदायमा सबैभन्दा धेरै जनसंख्या रहेको मगर समुदाय पार्टी नेतृत्वमा थोरै प्रतिनिधित्व भई रहेको यस अवस्थामा अझ बढी प्रतिनिधित्व हुन सक्ने गरी नेतृत्व स्थापित गराउन मेरो सहयोग र समर्थन रहने उनले बताए ।

'नेपाली कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध पहिलो पटक आवाज बुलन्द गरी सहादत प्राप्त गरेका क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्यलाई तपाईंहरूका बीचमा म राख्न चाहन्छु । नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू— गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,’ देउवाले भने, ‘संविधान संशोधन गर्दा मगर समुदाय लगायत आदिवासी जनजातिले अहिले प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै अझै समावेशी र लोकतान्त्रिक बनाउन नेपाली कांग्रेस दृढ रहेको छ । मगर लगायत आदिवासी समुदायको प्रथाजन्य परम्परागत ज्ञान, सीप र पेसाको संरक्षण, प्रवर्द्धन गर्दै जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न नेपाली कांग्रेस आदिवासी समुदायसँग सहकार्य गर्नेछ ।’

देउवाले संघको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न पनि सुझाए ।

देशको तेस्रो ठूलो जनसंख्या भएको मगर जाति आदिवासी जनजाति समुदाय अन्तर्गतको पनि सबैभन्दा ठूलो संख्यामा रहेको देउवाको भनाइ छ ।

मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रवादी मगरहरूलाई संगठित बनाउन बलियो भ्रातृ संस्थाको आवश्यकतालाई महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर संघ गठन गरेको देउवाले बताए ।

नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यता अनुरूप राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको उनले बताए ।

सबै जात–जाति, भाषा भाषी एवं क्षेत्रका नागरिकको विश्वासको केन्द्र नेपाली कांग्रेस रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्