०६ साउन २०८३, बुधबार

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली​ एनटी स्ट्राइकसँग ४२ रनले पराजित

साउन ३०, २०८२
काठमाडौं
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली​ एनटी स्ट्राइकसँग ४२ रनले पराजित

​अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाली टोली शुक्रबार खेलिएको खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको एनटी स्ट्राइकले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । उनले केवल २६ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । सातौं नम्बरमा क्रिज समाल्न आएका गुलसन कुमार झाले पनि २६ रन जोडे ।

आक्रामक रूपमा प्रस्तुत भएका गुलसनले केवल १० बलमा दुई छक्का र दुई चौका हिर्काए । कप्तान रोहित कुमार पौडेलले २१ बलमा दुई छक्काको मद्दतले २३ रन बटुले ।

दीपेन्द्रसिंह ऐरीले पनि २४ बलमा एक चौकाको मद्दतले १९ रन बनाए । एनटी स्ट्राइकका बलर म्याट ह्यामन्डले तीन विकेट लिए । नेपाली टोलीले अतिरिक्त रूपमा केवल केवल तीन रन पायो ।

त्यसअघि, एनटी स्ट्राइकका लागि ओपनर ब्याट्सम्यान डी’आर्ची सर्टले अर्धशतक बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ३४ बलमा एक छक्का र सात चौका पनि प्रहार गरे ।

थोमस एन्ड्र्यूजले पनि टोलीको खातामा अविजित ३२ रन थपे । उनले २६ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । टोलीका लागि जोर्डन सिल्कले पनि १९ रन बनाए ।

नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा ३८ रन खर्चिएका । साहब आलमले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा ३२ रन खर्चिए ।

नेपाली टोलीका बलर रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल पनि एक–एक विकेट हात पारे । नेपाली बलरहरूले अतिरिक्त रूपमा २४ रन खर्चिएका थिए ।

टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो दोस्रो खेल १६ तारिखमा बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपाल तेस्रो खेल अगस्त १८ तारिखमा स्टार्ससँग र चौथो खेल १९ तारिखमा हरिकन्ससँग खेल्नेछ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौँ र २२ तारिखमा पाकिस्तान ‘ए’ सँग छैटौँ खेल खेल्नेछ ।

आईसीसी पुरुष टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले यो शृंखला खेलेको हो । यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ ।

दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपाली टोलीले आफ्नो पाँचौँ तथा अन्तिम खेल पनि अगस्त ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्