
तेस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला २०८२ शुरू भएको छ। चितवन उद्योग संघ महिला उद्यमी समितिको आयोजनामा 'तीजको रङ, उद्यमशीलता सँग' भन्ने नारासहित भरतपुर–१० स्थित चितवन एक्स्पो सेन्टरमा आजदेखि शुरू भएको मेला भदौ १ गतेसम्म सञ्चालन हुनेछ।
मेलाको उद्देश्य महिला नेतृत्वमा सञ्चालित साना तथा ठूला व्यवसायलाई प्रोत्साहन गर्नु, नेपाली मौलिक उत्पादनलाई बजारमा प्रवर्द्धन गर्नु र महिला उद्यमशीलताको सशक्तीकरण गर्नु रहेको छ ।
कृषि, हस्तकला, वस्त्र, खाद्य सामग्री, घरेलु उत्पादन तथा सेवा क्षेत्रमा आधारित स्टार्टअपदेखि स्थापित व्यवसायसम्मका महिला र पुरुष उद्यमीहरूको सक्रिय सहभागिता रहेको छ। साथै, सांस्कृतिक कार्यक्रम, तीज गीत प्रतियोगिता, व्यापारिक अन्तरक्रियाजस्ता गतिविधिहरूले मेलालाई अझ आकर्षक र जीवन्त बनाएका छन् ।
चौधरी फाउन्डेसनअन्तर्गतको उन्नति कल्चरल भिलेज पनि स्टल नम्बर A2 बाट विशेष उपस्थितिसहित सहभागी भएको छ।

यसले जीवन्त माटोका भाँडाकुँडा र प्राकृतिक फाइबरका सामग्री निर्माणको प्रदर्शन, परम्परागत हस्तकला प्रदर्शनी, खरिदकर्तालाई ‘उन्नति सांस्कृतिक संग्रहालय’ भ्रमणको निःशुल्क टिकट, साथै छुटसहितको सेवा सुविधा प्रदान गरिरहेको छ।
उन्नति कल्चरल भिलेज नेपालको आर्थिक वृद्धि, सांस्कृतिक सम्पदा र परम्परागत ज्ञानको संरक्षण तथा विकासमा केन्द्रित संस्था हो। यसको सहभागिता नेपाली कला, हस्तकला, नृत्य, संगीत, खाना, भाषा र बस्ती जस्ता पुराना परम्परालाई जगेर्ना गर्दै नयाँ पुस्तामा पुनः जीवन दिने उद्देश्यका साथ गरिएको हो।
आयोजकका अनुसार यो मेला नेपाली समाजमा बढ्दो महिलाको उद्यमशील क्षमता, नवप्रवर्तनशील सोच र मौलिक उत्पादनप्रतिको चासोलाई उजागर गर्ने ऐतिहासिक अवसर बनेको छ।
सहभागी र दर्शकको उत्साहले भविष्यमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र समावेशी हुने स्पष्ट संकेत दिएको छ।