०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

रामकुमारी झाँक्रीद्वारा आत्मालोचना, रवि लामिछाने अब नक्खु कारागारमा

साउन ३१, २०८२
काठमाडौं
रामकुमारी झाँक्रीद्वारा आत्मालोचना, रवि लामिछाने अब नक्खु कारागारमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । 

कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले बताए ।
००००
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओस)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाइएको छ ।
००००
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षाको नतिजा चित्त नबुझेर पुनर्योग गराएका तर त्यसमा पनि असन्तुष्ट विद्यार्थीलाई उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाउने भएको छ।

कार्यालयले शुक्रबार प्रकाशित सूचनामा पुनर्योगका लागि निवेदन दिएका विषयमध्ये नतिजामा चित्त नबुझ्ने विद्यार्थीले प्रति विषय दुई हजार रुपैयाँको दरले राजश्व खातामा रकम जम्मा गर्नुपर्ने उल्लेख गरेको छ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय सचिवालयको सातौं र आठौं बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा सम्पन्न भएको छ। दुवै बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेका थिए।

पहिलो अर्थात् सातौं बैठकले नेकपा एकता राष्ट्रिय अभियानसँग एकीकृत भएपछि वामदेव गौतमलाई तेस्रो वरीयताक्रमका बरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि जारी उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ। साथै, तीन जनालाई पोलिटब्यूरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। 
००००
कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण कम्तीमा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको पुष्टि भएको छ। नेपाली राजदूतावास, कुवेतले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार पीडितमध्ये केहीको मृत्यु भइसकेको छ भने केहीको अवस्था गम्भीर छ।
००००
८६ हजार ४ सय विद्युतीय चुरोट (भेप) चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ४ व्यक्ति र ७ कम्पनीविरुद्ध ८७ करोड बिगोसहितको मुद्दा दायर गरेको छ ।

चार व्यक्तिविरुद्ध ३० करोड  र ७ कम्पनीविरुद्ध ५७ करोड गरी ८७ करोड बिगो तथा बिगो बमोजिम जरिवाना गर्न माग गर्दै बिहीबार ललितपुर जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।
००००
नेपाली कांग्रेसले महोत्तरीका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरेको छ । 

फौजदारी मुद्दाका अभियुक्त रहेका यादवलाई पार्टी प्रवेश गराएको भोलिपल्टै कांग्रेसले उनको सदस्यता खारेज गरेको हो । कांग्रेसले बिहीबार यादवलाई पार्टीमा प्रवेश गराएपछि हत्याका फरार प्रतिवादीलाई कांग्रेसको स्वागत, सभापति देउवाले नै पार्टीमा भित्र्याए शीर्षकमा लोकान्तरले समाचार प्रकाशित गरेको थियो ।
००००
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा लागेपछि ‘मरेको सिनो’ काँधमा बोकेर हिँड्न नसकिने भनेर दिएको अभिव्यक्ति प्रति नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छिन् ।

झाँक्रीले पार्टीमा आत्मालोचना प्रस्ताव पेस गरेकी उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । शुक्रबार बसेको नेकपा एसको बैठकले झाँक्रीको आत्मालोचना प्रस्तावलाई लिएर झाँक्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।
००००
जिल्ला अदालतका १२२ र उच्च अदालतका ८८ जना न्यायाधीशको एकै पटक सरुवा भएको छ ।

शुक्रबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ठूलो संख्यामा न्यायाधीशहरूलाई सरुवाका लागि सिफारिस गरेको हो ।
००००
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका छन् । 

उनले शुक्रबार अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।
००००
मनोहरा किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । 

मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीय आक्रोशित भएका छन् ।
००००
आफू अनुकूलको आदेश–फैसला नआएको झोकमा अदालतप्रति अनास्था फैलाउने खालका टिप्पणी गर्ने गरेको भन्दै रास्वपाका नेतारकार्यकर्ताको आलोचना भएको छ ।

आफूअनुकूल आदेश नआउँदा न्यायालयप्रति रास्वपाका कार्यकर्ताले गरेका अस्वाभाविक टिप्पणीबारे संसद्मा नियमित कुरा उठ्ने गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्