२३ असार २०८३, मंगलबार

भावनात्मक क्षण, रोमाञ्च र विवादपछि साविक विजेता लिभरपुललाई तीन अंक

साउन ३१, २०८२
काठमाडौं
भावनात्मक क्षण, रोमाञ्च र विवादपछि साविक विजेता लिभरपुललाई तीन अंक

इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले विजयी शुरूआत गरेको छ । नयाँ सिजनको उद्घाटन खेलमा लिभरपुलले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बर्नमाउथलाई ४–२ गोलले हराएको हो । 

तिजसँगै लिभरपुलले सिजनको पहिलो खेलबाटै तीन अंक बटुल्दै आफू उपाधि जोगाउन सक्षम रहेको संकेत दिएको छ । खेल अन्त्यतिर निकै रोमाञ्चक मोडमा पुगेको थियो । तर, अन्तिम समयमा लगातार दुई गोल थप्दै लिभरपुलले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

खेल शुरू हुनुअघि कार दूर्घटनामा जीवन गुमाएका डियोगो जोटाको र उनका दाजुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । जुलाईमा सवारी दूर्घटनामा परी जोटा र उनको दाजुको निधन भएको थियो ।

दुवै टोलीका खेलाडीले खेलको २०औँ मिनेटमा पनि जोटाप्रति श्रृद्धाञ्जली व्यक्त गरेका थिए । जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाएर खेल्थे । लिभरपुलका प्रशिक्षक आर्ने स्लटले शुरूआती टोलीमै चारजना नयाँ खेलाडीलाई मैदानमा ओरालेका थिए ।

खेल शुरू भएको ३७औँ मिनेटमा ह्युगो एकिटिकेले लिभरपुलका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा लिभरपुल १–० ले अगाडि रह्यो । निर्धारित समयको ४९औँ मिनेटमा लिभरपुलका लागि कोडी गाक्पोले दोस्रो गोल गरेका थिए ।

त्यसपछि बर्नमाउथले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । निर्धारित समयको ६४औँ मिनेटमा एन्टोइन सेमेन्योले बर्नमाउथका लागि पहिलो खेल फर्काएका थिए । ७६औँ मिनेटमा सेमेन्योले नै अर्को गोल थपेपछि खेल २–२ को बराबरीमा पुगेको थयो ।

त्यसअघि, सेमेन्योले आफूमाथि दर्शकदिर्घाबाट जातीय दूर्व्यवहार भएको गुनासो रेफ्रीसँग गरेका थिए । सोही कारणले पहिलो हाफमा केही समय खेल रोकिएको पनि थियो । सेमेन्योको दुई गोलपछि खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो ।

त्यसपछि, निर्धारित समयको ८८औँ मिनेटमा फेड्रिको किएसाले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए । इन्जुरी समयको चौथो मिनेटमा लिभरपुलका लागि मोहम्मद सलाहले चौथो गोल गरेका थिए ।

यसरी भारी मनले जोटाप्रति श्रृद्धाञ्जली अपर्ण गर्दै अघि बढेको प्रिमियर लिगको पहिलो खेल जातीय दुर्व्यवहारको विवाद र भरपुर रोमाञ्चपछि अन्तत: लिभरपुलाई तीन अंक दिलाउँदै सकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्