
विश्व फूटबलका सर्वकालिन महान खेलाडीमध्येका एक लियोनल मेसी भारत भ्रमणमा आउने भएका छन् । समाचारमा जनाइएअनुसार, अर्जेन्टिनी स्टार मेसी डिसेम्बरमा भारत आउने भएका हुन् ।
भारत भ्रमणका क्रममा मेसीले कोलकाता, अहमादाबाद र मुम्बईमा आयोजना हुने कार्यक्रममा भाग लिने बताइएको छ । उनको भ्रमणलाई ध्यानमा राखी भारतमा आयोजना गरिएको कार्यक्रमको नाम ‘ग्रेटेस्ट अफ अल टाइम टुर अफ इन्डिया–२०२५’ राखिएको छ ।
उक्त टुर डिसेम्बर १२ तारिखमा कोलकाताबाट शुरू हुनेछ । कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओर विजेता मेसीले डिसेम्बर १५ तारिखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।
मेसी यसअघि सन् २०११ मा पनि भारत भ्रमणमा आएका थिए । ‘लियोनल मेसी भारत भ्रमणमा आउने सबै कार्यक्रम औपचारिक रुपमै तय भइसकेको छ,’ कार्यक्रमका प्रमोटर सतन्दु दत्ताले भारतीय समाचार संस्था पीटीआईसँगको कुराकानीमा भनेका छन् ।
उनका अनुसार, मेसी डिसेम्बर १२ तारिखमा कोलकाता पुग्नेछन् । डिसेम्बर १३ तारिखमा कोलकातामा मेसीका लागि विशेष कार्यक्रम आयोजना गरिने उनले जनाएका छन् ।
‘ताज बंगाल होटलमा विशेष कार्यक्रम आयोजना हुनेछ । खाना महोत्सवमा पनि मेसी सहभागी हुनुहुनेछ । त्यहाँ अर्जेन्टिना र असम (भारत)को चियाको स्वाद लिन सकिने छ । बंगाली स्वादको माछाका परिकार र मिठाइहरू पनि राखिने छ,’ दत्ताले भनेका छन् ।
सोही दिन कोलकातामा मेसीको विशाल प्रतिमा अनावरण गरिने छ भने विशेष कार्यक्रम र जीओएटी कप फूटबल पनि आयोजना हुनेछ । मेसीसँग भारतीय खेलकुदका हस्तीहरू सौरव गांगुली, लिएन्डर पेस, भाइचुङ भुटिया, वलिउड कलाकार जोन अब्राहमलगायतले पनि फूटबल खेल्नेछन् ।
त्यसपछि मेसी १३ तारिखमै अहमादाबाद जानेछन् । अहमादाबादमा अदाणी फाउन्डेसनको कार्यक्रममा सहभागी हुनेछन् । १४ तारिखमा उनी मुम्बई जानेछन् । मुम्बईमा पनि जीओएटी कप फूटबल खेलिने छ ।
वानखेड स्टेडियमा हुने खेलमा मेसीसँगै बलिउड कलाकार शाहरुख खान, खेल क्षेत्रका हस्ती लिएन्डर पेश, सचिन तेन्दुल्कर, महेन्द्रसिंह धोनी, रोहित शर्मालगायतको सहभागिता रहने बताइएको छ । त्यसपछि मेसीले १५ तारिखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।