
राजनीति राज्यको शासन तथा प्रशासन सञ्चालन गर्ने व्यवस्था हो। लोकतान्त्रिक मुलुकमा राज्य सञ्चालनका लागि व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकासहित अन्य संवैधानिक अङ्गहरू, सुरक्षा निकायहरूलगायत संरचनाहरू पर्दछन्। रूपान्तरणको अर्थ साविकको अवस्था र व्यवस्थाभन्दा सकारात्मक वा नकारात्मक किसिमले बदलिएको स्थिति र परिस्थिति भन्ने बुझिन्छ। राजनीतिक रूपान्तरणले राज्यको संरचना, ऐन–नियमहरूलगायत संविधान र राज्यव्यवस्थामा आमूल परिवर्तनको अवस्था जनाउँछ। कुनै पनि वस्तु, घटना, स्थिति, परिस्थिति, अवस्था र व्यवस्थालगायत सबै पक्षको सत्यतथ्य वस्तुगत जानकारी बुझ्न गरिने अनुसन्धानात्मक खोज नै अध्ययन हो।
विषयवस्तुको गहन अध्ययन, अनुसन्धान, अभ्यास र प्रयोगले व्यक्तिमा उक्त विषयवस्तुको ज्ञान, सीप हासिल हुनुका साथै विषय विज्ञता प्राप्त हुन्छ। सम्बन्धित विषयका विज्ञहरूबाट वस्तु, सेवा र सामग्रीहरूको उत्पादनदेखि लिएर स्वास्थ्य, शिक्षा, श्रम आदि क्षेत्रमा आइपर्ने समस्याहरूको सही पहिचान र वैज्ञानिक तरिकाले समाधानका साथै ती क्षेत्रमा रोजगारीको अवसरहरूको सिर्जना गर्ने कामहरू र राज्य संयन्त्रका नीतिनियमहरू निर्माण हुन्छन्। उच्चस्तरीय विज्ञहरूबाट नै नयाँ-नयाँ ज्ञानविज्ञानका क्षेत्रमा सफल वैज्ञानिक आविष्कारहरू प्रतिपादित हुन्छन्।
राज्य सञ्चालनका लागि स्थानीय तहदेखि सङ्घीय सरकार र सम्बन्धित निकायहरूको सञ्चालनमा दक्ष र विज्ञ जनशक्तिको आवश्यकता पर्दछ। राज्यको सर्वोच्च अङ्ग व्यवस्थापिकामा सही व्यक्तित्वहरूको चयन तथा कार्यपालिका र न्यायपालिका जस्ता संवैधानिक निकायहरूको निर्माण र सञ्चालनमा नीतिगत, विधिगत प्रक्रियाबाट विज्ञ समूहद्वारा व्यवस्थापन र सञ्चालन हुँदा सही ठाउँमा सही जनशक्तिको उचित स्थान सुनिश्चित राज्यबाट नै गरिँदा जनअपेक्षित सुशासन र समृद्धि स्थापित हुन्छ। राज्यबाट नै जनजीविकाका लागि काम, दाम र उचित सेवासर्त एवं सुविधा वितरण हुँदा आम जनताले राज्य र जनमैत्री सरकार भएको प्रत्याभूति गर्न पाउँछन्। सोच्ने तथा सल्लाह र उचित परामर्श दिने दार्शनिक नै राज्य सञ्चालनका मूल धरोहर हुन्।
कुनै विषयप्रति विज्ञता हासिल गरेको निश्चित कलेज वा विश्वविद्यालयको सर्टिफिकेट ज्ञान हासिल गरेको एउटा प्रमाण त हुनसक्छ, तर वर्तमान परिवेशमा ज्ञानविज्ञानको दायरा प्रति सेकेन्ड फराकिलो भइरहेको वैज्ञानिक युगमा सीमित समयवधिमा प्राप्त सो सर्टिफिकेट पर्याप्त नहुन पनि सक्छ। किनकि अध्ययनको निरन्तरता नहुँदा आजको स्नातक भोलिको निरक्षर जस्तै हुन पुग्दछ भने अध्ययन र अनुसन्धानको निरन्तरताले व्यक्तिमा ज्ञान, सीप, क्षमता, योग्यता बढाउने बानीको विकास हुनु जरुरी हुन्छ। नवीन तथ्य र सिद्धान्त स्थापित गर्न र पुराना तथ्यहरूको खोजबिन गर्न अनवरत लागि रहने र जागि रहने बानी नै अध्ययन संस्कृति हो।
राजनीतिक रूपान्तरण जनक्रान्ति वा जनताको आन्दोलन र सङ्घर्षको बलमा जनताका हकअधिकार, स्वतन्त्रता, समानता स्थापित गर्न र समग्र राज्यको सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायिक क्रान्तिका साथै मूल कानुन संविधान, शासन प्रणाली, शक्ति संरचनालगायत समग्र राज्यसत्ता परिवर्तन गरिनु अग्रगामी रूपान्तरण हो भने यसको उल्टो विद्यमान शासकद्वारा जनताका प्राप्त मौलिक हकअधिकार, स्वतन्त्रता खोसिनु, राज्यद्वारा दमन गरिनु प्रतिगामी रूपान्तरणको उदाहरण हो।
जस्तै, वि.सं. १९९० दशकमा नेपालमा जनताद्वारा राणा शासनको विरोध हुनु र शुक्रराज शास्त्री, धर्मभक्त माथेमालगायत शहीदहरूको बलिदानीबाट वि.सं. २००७ मा प्रजातन्त्र स्थापित हुनु सत्ता परिवर्तन वा राजनीतिक रूपान्तरणको उदाहरण हो । वि.सं. २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्र र बहुदलमाथि प्रतिबन्ध लगाई निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरिनु पनि सत्ता परिवर्तनको उदाहरण हो।
नेपालमा राजनीतिक रूपान्तरणबाट सत्तामा भएका परिवर्तनहरू
विश्वको इतिहासमा भएका राजनीतिक रूपान्तरणका केही उदाहरणहरू
अध्ययन संस्कृति
अध्ययन भन्नाले कुनै विषयका विभिन्न पक्षमा गरिने खोज वा अनुसन्धानलाई बुझिन्छ भने संस्कृति कुनै राष्ट्र वा जाति समुदायको भाषा, परम्परा, मूल्य, मान्यता, रीतिरिवाज, जीवनशैली, साहित्य, कलाका साथै सामाजिक, आर्थिक अवस्था, धार्मिक आस्था आदिको समष्टिगत रूप नै संस्कृति हो अर्थात् समकालीन समाजको सामाजिक, आर्थिक उत्तरदायित्व नै संस्कृति हो।
धर्मको खास अर्थ उपकार, परोपकार र सदाचार भए पनि विगतका शासकहरूले धर्मलाई संस्कृति र मानिसको मनमुटुसँग जोडेर आस्थामा रूपान्तरण गरिदिए। धर्मलाई शासक वर्गको बलशाली मुख्य अस्त्रको रूपमा प्रयोग गर्दै निर्धामाथि शासन र निरन्तर दमन गरिरहे। आफ्नो शासनसत्ता टिकाउन विभिन्न सांस्कृतिक र सामाजिक प्रथा, परम्परा सिर्जना गरेर धर्मलाई अपरिवर्तित तथ्यको रूपमा स्थापित गरियो। त्यसकारण धर्मलाई अपरिवर्तनीय आस्था र पौराणिक चिन्तन मान्ने संस्कार अझै छ। आजको वैज्ञानिक युगमा पनि मानिसका जन्म, मृत्यु, विवाह आदिजस्ता कार्यहरूमा धार्मिक र सांस्कृतिक रीतिरिवाजको समष्टिगत रूप देखिन्छ।
मानव सभ्यता ढुङ्गे युगदेखि वर्तमान वैज्ञानिक आविष्कार र नवप्रवर्तनको युगसम्म पुग्दा मानवीय इच्छा, चाहना र आवश्यकताहरू बदलिँदै जानुले पुरानो संस्कृतिलाई नयाँले विस्थापन गरिरहेको स्पष्ट देखिन्छ। मानिसहरूको सामाजिक, आर्थिक अवस्था परिवर्तन हुँदा सोच्न सक्ने चिन्तन र गरिने व्यवहारमा पनि फरकपन आउँछन्, फलस्वरूप सामाजिक रूपहरू पनि परिवर्तन हुन्छन्।
व्यक्ति, समाज र राष्ट्रलाई अग्रगामी दिशातिर डोर्याउन तथा राज्यलाई आवश्यक पर्ने स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता बहुआयामिक क्षेत्रको विकास गर्न, जनतालाई उत्पादन र श्रम संस्कारमा जोड्न, योग्यता अनुसारको काम र काम अनुसारको ज्याला, स्वास्थ्य, शिक्षा र देशमै रोजगारीको ग्यारेन्टी गरी जीवनस्तर रूपान्तरण, दिगो विकास र स्थायी समृद्धिको जग बसाल्न प्रत्येक नागरिक शिक्षित र दीक्षित हुन आवश्यक हुन्छ।
शिक्षाविद् जोन लकले भनेझैँ 'बोटबिरुवाहरूको विकास गोडमेलद्वारा हुन्छ भने मानिसको विकास शिक्षाद्वारा हुन्छ।' एउटा निश्चित अवधिभित्र प्राप्त गरेका विद्यालयदेखि विश्वविद्यालयसम्मका ज्ञान र सीपहरू निरन्तर प्रयोग र परिमार्जन भएनन् भने कालान्तरमा ती सबै बेकामे सरह नै हुन्छन्। डिग्री र पी.एच.डी. गरेका थुप्रै व्यक्तिहरूले आफ्नै परिवार, समाज र राज्यका लागि कुनै योगदान नदिएर, स्थानीय र विश्वबजारमा नबिकेर, नटिकेर बेरोजगारीको दलदलमा फसेका प्रशस्त उदाहरणहरू पनि छन्। त्यसकारण आफ्नो पेसागत, क्षमताबद्ध विकास गर्न निरन्तर रूपमा हरेक वस्तु, घटना, सिद्धान्त, तथ्य आदिको बारेमा अध्ययन अनुसन्धान गर्न थाक्नु हुँदैन। विज्ञ त्यो व्यक्ति हो, जो हरेक किसिमका ज्ञान लिन, सीप सिक्न कहिल्यै थाक्दैन। वास्तवमा अध्ययन संस्कृति नै सिकाइको निरन्तरता हो। हरेक सिकाइको एउटा उद्देश्य व्यवहार रूपान्तरण हो। निरन्तर अध्ययन अनुसन्धानले विद्यार्थीलाई स्कुलदेखि विश्वविद्यालयसम्म सफल बनाउँछ। पेसा व्यवसायीले उसको पेसा व्यवसायलाई अब्बल प्रमाणित गर्छ र प्रशस्त धनसम्पत्ति कमाउँछ। त्यस्तै, वैज्ञानिकबाट नवीन आविष्कारहरू हुन्छन् भने अध्ययनशील राजनीतिज्ञबाट नवीन सोच, चिन्तन विकासका साथै राज्यसत्तामा युगान्तकारी र अग्रगामी रूपान्तरण हुन्छ।
सारांशमा, व्यक्ति, समाज र राष्ट्रले निरन्तर ज्ञान, सीप, अध्ययन, अनुसन्धानबाट आफूलाई रूपान्तरण गर्नु र समयसापेक्ष बनाइराख्नु नै अध्ययन संस्कृति हो।
राजनीतिक रूपान्तरण र अध्ययन संस्कृतिको सम्बन्ध
राजनीतिक रूपान्तरण र अध्ययन संस्कृतिको सम्बन्ध वैचारिक र व्यावहारिक रूपले घनिष्ट हुन्छ। राज्यको व्यवस्था वा सत्ता परिवर्तन राजनीतिक परिवर्तन हो भने राज्यका नागरिक र शासकहरूको सोच, चिन्तन र दृष्टिकोणमा परिवर्तन हुनु सांस्कृतिक परिवर्तन हो। सांस्कृतिक परिवर्तन नै अध्ययन संस्कृतिको उपज हो।
राजनीतिक रूपान्तरण र अध्ययन संस्कृतिको सम्बन्धलाई बुँदागत रूपमा निम्नानुसार प्रस्ट पार्न सकिन्छ ।
१. नागरिक चेतनाको विकास: अध्ययन संस्कृतिले नागरिकहरूको चिन्तन, दृष्टिकोण र सोचमा विकास हुन पुग्दछ, जसले नागरिकहरूद्वारा राज्यसत्तासँग आफ्नो अधिकार माग्ने र कर्तव्य पालनाको प्रतिबद्धता हुन्छ।
२. सामाजिक मूल्य,मान्यता,रीतिरिवाज,प्रथा,परम्परा,संस्कार,संस्कृति आदिको वैज्ञानिक ढङ्गले व्याख्या: जब अध्ययन संस्कृतिले मानिसहरूमा कुनै वस्तु वा घटनाप्रति स्पष्ट ज्ञान, सीप, धारणा तथा वैज्ञानिक चिन्तन र सोचका साथै व्यावहारिक र वस्तुवादी दृष्टिकोणको विकास हुन्छ, तब मानिसहरू पुराना रुढीवादी, अवैज्ञानिक परम्परा, संस्कार र संस्कृति बदल्नुपर्ने माग राख्दछन्। जस्तै: नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी भएको समयमा महिलाहरू घरभित्र बस्दा देवता रिसाउने र अनिष्ट हुन्छ भन्ने पुरानो प्रथा थियो। हाल आएर यो प्रथा उन्मूलित हुने अवस्थामा छ।
३. नेतृत्व सीपको विकास: नेता हुनका लागि हरेक अवस्था र स्थितिको सही आकलन गर्न सक्ने, उचित समयमा सही निर्णय लिन सक्ने र समाजका समस्या र आवश्यकता बुझ्न सक्ने जस्ता बहुआयामिक गुणहरू नेतृत्वमा हुनुपर्छ। अध्ययन संस्कृतिबिना असल नेतृत्व जन्मिन सक्दैन। अध्ययन संस्कृतिले दूरदर्शी, सक्षम नेतृत्व उत्पादन गर्दछ।
४. सहकार्य र सहमति: अध्ययन संस्कृतिले नै हरेक राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक मुद्दाहरूमा छलफल, वाद, प्रतिवाद, संवाद, सहकार्यको माध्यमद्वारा हल गर्न सिकाउँछ।
५. सामाजिक न्याय र समानता: अध्ययन संस्कृतिले समाजमा बसोबास गर्ने बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुसङ्ख्यक, बहुभाषिक जनताहरूलाई राज्यद्वारा दिइने सेवा, सुविधा, न्याय भेदभावबिना समान रूपमा वितरण गरिने प्रणाली र राजनीतिक पद्धतिको विकास गर्छ।
६. स्थायी शान्ति,सुशासन र समृद्धि: समाजमा स्थायी शान्ति, सुशासन र समृद्धि तब मात्र सम्भव हुन्छ, जब त्यस राज्यका शासक, सरोकारवाला निकाय र आम नागरिकहरूमा राजनीतिक चेत, अपनत्व, जिम्मेवारी तथा कर्तव्यबोधको भावना जागृत हुन्छ। यी सबै गुणहरू सबैमा विकसित गर्ने काम अध्ययन संस्कृतिको देन हो।
महत्त्व
वर्तमान नेपालको समाजलाई वस्तुवादी ढङ्गले केलाएर हेर्दा सामन्तवादी समाजको गर्भबाट दलाल पुँजीवादी व्यवस्थाको जन्म भएको छ। नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाली जनताद्वारा जारी गरिएको समाजवाद उन्मुख संविधान भनी उल्लेख गरिएको छ। वर्तमान समयका बहुदलीय सहमतिमा बनेको राज्यसत्तासीन सरकार र राजनीतिक दलहरूमा समाजवादका वस्तुगत आधारहरू तयार पार्दै जनताका आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार आदिको सुनिश्चितता गर्दै समाजवादी संविधान भनेर घोषणा गर्न सक्ने अधिकार छ।
तर पनि यसो गर्ने चाहना शासकमा छैन र जनताहरूमा चेतना छैन। किनभने सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रमा आजभन्दा झन्डै एक सय अठहत्तर वर्ष पहिले महान् समाजशास्त्री कार्ल मार्क्सले ‘बनिबनाउ राज्यमा समाजवाद लागू हुन सक्दैन’ भनेर उल्लेख रेका थिए । समाजवाद लागू गर्नका लागि सर्वप्रथम समाजवादी संस्कृति र संस्कार, आचरण र व्यवहार त्यहाँका शासक, सरोकारवाला निकायहरू र स्वयं नागरिकमा विकास हुनुपर्छ। सोच्न सक्ने विचार, गर्न सक्ने तर्क, बन्न सक्ने मानसिक दृष्टिकोण अनि रूपान्तरण भएको सामाजिक व्यवहार हुनुपर्छ।
विगत शताब्दीऔँदेखि विद्यमान सामन्ती राज्यसत्तालाई १० वर्षे महान् जनयुद्धको जगमा १९ दिने जनआन्दोलनको महान् जनशक्तिले विस्थापित गरेर नेपालमा वि.सं. २०६५ मा गणतन्त्र घोषणा भई वि.सं. २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बने पनि शताब्दीऔँबाट समाजमा जरा गाडेर रहेका सामन्ती संस्कारहरू र यसका सामाजिक, आर्थिक संरचनालगायतका प्रथा, परम्पराहरू परिवर्तन हुन नसक्नु भनेको सांस्कृतिक रूपान्तरण र अध्ययन संस्कारमा भएको कमीले नै हो।
देशको राजनीतिक व्यवस्था राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भइसक्दा पनि जनचेतना आएको छैन। एउटा राजाको छोरो राजा हुने जहानियाँ व्यवस्थाबाट जनताले आफ्नो मताधिकार प्रयोग गरी छानेको जनताको छोरो राष्ट्रपति हुने व्यवस्थासम्म आइपुग्दा र नेपालको समाजवाद उन्मुख संविधान लागू भएको झन्डै एक दशक वर्ष बितिसक्दा पनि हालसम्म समाजवादका वस्तुगत आधारहरू तयार नहुनु भनेको जनआधारमै अध्ययन संस्कृतिको संस्कार विकास नहुनु हो।
उत्पादनका मुख्य मुख्य साधन र स्रोतहरू मुट्ठीभर व्यक्तिको हातमा हुनु, विशेष गरेर मध्यम वर्गीय मानिसहरू बढी भएको हाम्रो समाजमा कुरा मात्र परिवर्तनका गर्ने तर समाज रूपान्तरणका लागि आफू जोखिम मोल्न र त्याग गर्न तयार नहुने स्थिति र निरपेक्ष गरिबीको रेखामुनि रहेको २५ प्रतिशत जनसङ्ख्या ज्याला मजदुरीमै व्यस्त भएको अवस्थाले समाजमा दलाल पुँजीवादी व्यवस्था स्थापित छ। राष्ट्रिय उद्योगधन्दा, कलकारखानाहरूलाई टाट पल्टाएर देशलाई बहुराष्ट्रिय कम्पनीहरूको बजार बनाइएको छ, जुन दलाल पुँजीपति वर्ग हाबी हुनुको परिणाम हो।
व्यवस्था परिवर्तनले मात्र जनता र समग्र राज्यको अवस्था परिवर्तन हुन सक्दैन। त्यसका लागि जनताहरू सचेत र सङ्गठित हुन अतिआवश्यक छ। हरेक नेताहरूमा पनि असल नेतृत्व गुणको संस्कार विकास हुनुपर्छ। राजनीतिक रूपान्तरणका लागि पनि सांस्कृतिक रूपान्तरणको महत्त्व हुन्छ। यी दुवै अध्ययन संस्कृतिले मात्र सम्भव छन्। वि.सं. २०५२ सालमा शुरू गरिएको जनयुद्धमा उत्पीडित वर्गले १० वर्षसम्म जोखिम मोलेर 'मुक्ति वा मृत्यु' को उद्देश्य राखी आफ्नो प्राणको बाजी लगाएर सत्ता परिवर्तन गर्न सम्भव भएको हो। त्यसकारण राजनीतिक रूपान्तरणमा पनि अध्ययन संस्कृतिको महत्त्व छ, जसलाई बुँदागत रूपमा तल प्रस्ट्याइएको छ।
१. सांस्कृतिक रूपान्तरण मानिसहरूको जीवनशैली, मूल्य, मान्यतासँग सम्बन्धित छ। सांस्कृतिक रूपान्तरण कसैले भनेर, कसैको बलमिच्याइँ, डर, धम्कीले हुने होइन। राजनीतिक रूपान्तरणपश्चात् अध्ययन संस्कृतिले व्यक्ति र समाजको सोच र चिन्तन परिवर्तन हुन्छ।
२. समाजमा भएको राजनीतिक परिवर्तनले नागरिकहरूको सोच, विचार, व्यवहार र विश्वासमा गहिरो प्रभाव पार्दछ। विद्यमान र वर्तमानका संस्कृतिका तत्वहरूबीच द्वन्द्व उत्पन्न हुन गइ विरोध र स्वीकारको वातावरण उत्पन्न हुन्छ, फलस्वरूप रूपान्तरणको रूप देखा पर्छ।
३. राजनीतिक रूपान्तरणले असल संस्कृति र संस्कारको संरक्षण, संवर्द्धन र प्रवर्द्धन हुन्छ।
४. राजनीतिक रूपान्तरणले विगत, विद्यमान र वर्तमानका मूल्य, मान्यता, संस्कार र संस्कृतिको समायोजन हुन्छ।
५. विज्ञानसम्मत र समाजका लागि उपयोगी सिद्धान्त, विचार, व्यवहार, मूल्य, मान्यताहरू पुस्तान्तरण र हस्तान्तरण हुन्छन् भने रुढीवादी र अवैज्ञानिक कुराहरू समाप्त हुन्छन्।
६. संस्कृतिले बहुजातीय, बहुभाषिक, बहुधार्मिक समुदायका राष्ट्रिय पहिचानहरूलाई प्रोत्साहन, सम्मान र संरक्षण गर्छ।
७. विभिन्न जात, धर्म र भाषाका सांस्कृतिक विविधताहरूबीच समन्वय गर्छ।
निष्कर्ष
राजनीतिक रूपान्तरण भन्नाले राज्यको संरचना, संविधान, ऐन–नियम, शासन प्रणाली, शक्ति र अन्य संरचनामा परिवर्तनलाई जनाउँछ। यसको उद्देश्य समाज र राष्ट्रलाई अग्रगामी दिशामा लैजानु हो। यसका लागि जनचेतना, सोच र दृष्टिकोणको परिवर्तन अति आवश्यक छ। अध्ययन संस्कृति भनेको निरन्तर सिकाइ, अनुसन्धान र ज्ञान आर्जनको प्रक्रिया हो, जसले व्यक्तिमा क्षमता, दक्षता र विचारशीलताको विकास गर्छ।
राजनीतिक रूपान्तरणलाई सफल बनाउन अध्ययन संस्कृतिको भूमिका महत्त्वपूर्ण छ। अध्ययन संस्कृतिले नागरिकमा चेतना, सामाजिक मूल्यको वैज्ञानिक व्याख्या, असल नेतृत्व, सहकार्य र सामाजिक न्यायको भावना विकसित गर्दछ। यसले समाजमा शान्ति, सुशासन र समृद्धि स्थापना गर्न योगदान दिन्छ।
नेपालको इतिहासमा किराँतकाल, लिच्छविकाल, शाहकाल र राणाकालदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तनले राज्यको संरचना बदलिएका छन्, तर राजनीतिक परिवर्तनपछि पनि समाजमा रुढीवादी संस्कार र संरचनाहरू कायमै छन्। यी संरचनाहरू बदल्न नागरिक र नेतृत्वमा अध्ययन सोच र संस्कृतिको अभाव देखिन्छ।
राजनीतिक रूपान्तरणले संस्कृतिलाई परिमार्जन गर्न सक्छ, तर यो तब मात्र सम्भव हुन्छ जब नागरिक र शासकमा अध्ययन संस्कृतिको विकास हुन्छ। अध्ययन संस्कृतिले वैज्ञानिक सोच, तर्कशीलता र नवप्रवर्तनशीलता सिर्जना गर्दै समाज र राज्यलाई समकालीन आवश्यकताअनुसार रूपान्तरण गर्न सहयोग पुर्याउँछ।
यसरी अध्ययन संस्कृति र राजनीतिक रूपान्तरण आपसमा घनिष्ट रूपमा जोडिएका छन्। अध्ययन संस्कृतिले राजनीतिक परिवर्तनलाई दिगो र प्रभावकारी बनाउन सघाउँछ। त्यसैले, समाजको समग्र प्रगति, समृद्धि र स्थायित्वका लागि अध्ययन संस्कृतिको महत्त्व उच्च छ।