
अस्ट्रेलियाका महान क्रिकेटर बब सिम्पसनको निधन भएको छ । आफ्नो समयका प्रभावशाली अलराउन्डर सिम्पसनको शनिबार ८९ वर्षको उमेरमा सिड्नीमा निधन भएको हो ।
सिम्पसन अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच शनिबार खेलिने तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटअघि सिम्पसनप्रति श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ ।
उक्त खेलमा अस्ट्रेलियाको टोली हातमा कालो पट्टी बाँधेर ओर्लने छ । सिम्पसनले सन् १९५७ देखि सन् १९७८ को बीचमा अस्ट्रेलियाका लागि खेलेका थिए । उनले अस्ट्रेलियन टोलीबाट ६२ टेस्ट र दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
प्रभावशाली अलराउन्डर सिम्पसनले टेस्ट क्रिकेटमा कुल चार हजार आठ सय ६९ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले १० शतक र २७ अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर भने तीन सय ११ रन हो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनले ३६ रन बनाएका छन् । यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा ७१ र एकदिवसीय क्रिकेटमा दुई विकेट पनि लिएका छन् । खासगरी, प्रथम श्रेणीको क्रिकेटमा उनको प्रदर्शन उत्कृष्ट छ ।
प्रथम श्रेणीमा उनले दुई सय ५७ खेल खेल्दै ६० शतक र एक सय अर्धशतक बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले कुल २१ हजार २९ रन बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले तीन सय ४९ विकेट पनि लिएका छन् ।
उनले ३९ टेस्टमा अस्ट्रेलियन टोलीको कप्तानी गरेका थिए । उनी सन् १९८६ देखि सन् १९९६ सम्म अस्ट्रेलियाको मुख्य प्रशिक्षक पनि थिए । अस्ट्रेलियाले सन् १९८७ मा विश्वकप, सन् १९८९ मा इङ्ल्यान्डविरुद्धको एसेस शृंखला र सन् १९९५ मा वेस्ट इन्डिजविरुद्धको शृंखला सिम्पसनकै प्रशिक्षकत्वमा जितेको थियो ।
अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा सिम्पसनलाई आफ्नो आदर्श मान्छन् । उनी अस्ट्रेलियन क्रिकेटमा सिम्पसनको योगदान अतुलनीय रहेको बताउँछन् । ‘बब सिम्पसनले भन्दा बढी अस्ट्रेलियन क्रिकेटलाई कसैले दिएको छैन,’ उनी भन्छन्, ‘खेलाडी, प्रशिक्षक, क्रिकेट कमेन्टेटर, क्रिकेट लेखक, चयनकर्ता, मागदर्शक र पत्रकारको रूपमा उनले अस्ट्रेलियन क्रिकेटलाई जे दिए त्यो सधैं अविस्मरणीय रहनेछ ।’