
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डप क्षेत्रमा रहेको आफ्नै स्वामित्वका १५७ सटर दुई वर्षका लागि भाडामा लगाउने भएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको सूचनामा सो सटर तथा संरचना निर्धारित भाडादरमा बहालमा दिने उल्लेख छ ।
सूचना अनुसार इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले रु. १,००० (फिर्ता नहुने) मा दरभाउपत्र खरिद गरी १५ दिनभित्र पेश गर्नुपर्नेछ । दरभाउपत्र आगामी १६औँ दिन अपरान्ह १२ बजेसम्म बुझाउन सकिने र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।
भाडामा उपलब्ध गराइने सटरमध्ये ब्लक ‘ए’ का ५४ सटरको मासिक भाडा रु. ५ लाख, ब्लक ‘बी’ का ५२ सटरको मासिक भाडा रु. ६ लाख ४७ हजार ५२० र ब्लक ‘सी’ का ५१ सटरको मासिक भाडा रु. ५ लाख तोकिएको छ । त्यस्तै, दुई वटा अस्थायी टहराको भाडा भने एकमुष्ट रु. ५० हजार तोकिएको छ ।
इच्छुकहरूले दरभाउपत्र सम्बन्धी विस्तृत जानकारी तथा स्थल अवलोकनका लागि कम्पनीको प्रधान कार्यालय, भद्रकाली प्लाजामा सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ ।