
रुपन्देही प्रहरीले नक्कली प्रमाणपत्रसहित भारतीय युवकलाई पक्राउ गरेको छ ।
नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरूसहित भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।
रुपन्देही प्रहरीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका युवकको साथमा रहेको सुटकेस खानतलासी गर्दा नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न कागजपत्र, स्ट्याम्प, होलोग्रामजस्तो देखिने स्टीकर, ल्यापटप, नगद, इलेक्ट्रोनिकलगायतका सामान बरामद भएको जानकारी दिएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले अभिषेकको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, नम्बर स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान, होलोग्रामजस्तो देखिने विभिन्न विद्यालयका स्टीकरहरू, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरू, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आइफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्डलगायत सामानहरू बरामद गरेको डीएसपी कार्कीले बताए ।
भारतबाट एक जनाले नक्कली सर्टिफिकेटलगायत सामान बोकेर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा सर्टिफिकेटहरू फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले बताए ।
‘प्रहरीलाई पहिले देखिनै यस्तो काम भइरहेको छ भन्ने सूचना आइरहेको थियो, त्यही सूचनालाई हामी सक्रियताका साथ लागेर सफलतामा पुगेका हौं,’ एसपी क्षेत्रीले भने ।
घटनामा को-को संलग्न छन् सबै विस्तारै खुल्ने उनले बताए ।
यसबारे थप अनुसन्धान भइरहेको र यस कार्यमा संलग्नहरूको पहिचान भइसकेकाले प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ छ ।
पक्राउ परेका युवकले आफूले मासिक तलबमा काम गरेको बयान दिएका छन् । यसअघि पनि आफूले नक्कली सर्टिफिकेटहरू नेपाल ल्याएको बयान उनले दिएका क्षेत्रीले बताए ।