
तराई/मधेश केन्द्रित राजनीतिक दलले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार अगाडि सार्ने निर्णय गरे पनि नाउपा उपचुनावमा भाग लिन नपाउने भएको छ ।
निर्वाचन आयोगले सोमबार दर्ता भएका २६ दलको सूची सार्वजनिक गरेको छ । तर उक्त सूचीमा नाउपा छुटेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले दर्ताका लागि पेस गर्नुपर्ने विवरण पेस नगरेकाले नाउपा अयोग्य ठहरिएको लोकान्तरलाई बताइन् ।
एक हप्ताको समय दिँदा पनि नाउपाले आवश्यक प्रक्रिया पूरा नगरेको अर्यालको भनाइ छ ।
नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए । तर, निर्वाचन आयोगले अध्यक्ष श्रेष्ठलाई नै वैधानिकता दिएको थियो ।
अब मधेशवादी दलले कुन पार्टीका उम्मेदवारलाई अघि सार्छन् भन्ने फेरि चर्चा शुरू भएको छ ।
राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि यहाँ कात्तिक १७ गते प्रतिनिधिसभा उपचुनाव हुँदैछ ।

