११ साउन २०८३, सोमबार

नेपालगन्ज नाइट रनमा अब रिले दौड पनि

भदौ ३, २०८२
काठमाडौं
नेपालगन्ज नाइट रनमा अब रिले दौड पनि

नेपालको एकमात्र रात्रीकालीन दौड प्रतियोगिता ‘नेपालगन्ज १० नाइट रन’मा यो वर्षदेखि रिले दौड विधा पनि समावेश गरिने भएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।

एम्सद्वारा यसअघि नै प्रमाणीकरण गरेको रुटमै रात्री दौडसमेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुला दौड समावेश गरिएको छ ।

यसैगरी, प्रतियोगितामा ५ किलोमिटर छात्र तथा छात्रा स्कुलस्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि) दौड, ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्षमाथि) दौड र १० किलोमिटर मिक्स रिले (चारजनाको समुह दौड) स्पर्धा पनि समावेश गरिएको छ ।

मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघ–संस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर प्रतिस्पर्धा गर्न सक्ने जानकारी रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले दिए ।

‘१० किलोमिटरलाई समान चार दूरीमा बाँडेका छौं । सोहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दूरी पुरा गर्नुपर्ने हुन्छ,’ रेस डाइरेक्टर गुरुङले भने । पहिलोपटक समावेश गरिएको रिले दौडले सर्वसाधारलाई पनि दौडको मजा दिने एम्सका दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।

‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं,’ संस्थापक ठकुरीले भने, ‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं । दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउने छ ।’

नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवै दौडको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुन: सोही रुटबाट बीपी चोकमै पुगेपछि १० किलोमिटर दौड पुरा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्